२०८३ साउन ८ , शुक्रबार (2026 Jul 25, Saturday)

तीन विद्यालयमा शैक्षिक सामग्री वितरण



दैलेख – नेपाल प्रहरी श्रीमती संघले दैलेखका तीन विद्यालयमा अध्ययनरत १ सय ४५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । नारायण नगरपालिका–९ स्थित इश्वरी प्रावि साँडू, दैलेख सदरमुकामस्थित बाल मन्दिर प्रावि तथा दुल्लुस्थित नेपाल राष्ट्रिय मावि कीर्तिखम्बाका बालबालिकालाई संघले विद्यालयमै पुगेर शुक्रबार वस्तुपरक शैक्षिक सामग्री वितरण गरेको हो ।

उक्त विद्यालयका विद्यार्थीलाई झोला, कपी, कलम, ट्र्याकसुट, कम्बल तथा अन्य आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइएको नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय सचिव संगिता लम्सालले जानकारी दिनुभयो । संघले कर्णाली र यस्तै विकट तथा विपन्नहरुका लागि आश्रम तथा आवास गृहलाई लक्षित गरी छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीले हरेक बालबालिकाले गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण पाउनुपर्ने उद्देश्यअनुरूप शैक्षिक सामग्री वितरण गरिएको बताउँदै यसबाट सामग्री प्राप्त गरेका बालबालिकामा अध्ययनप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गर्नुभयो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका इञ्चार्ज डीआईजी जयराज सापकोटा, नारायण नगरपालिकाका मेयर लोमन शर्मा, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापनका इञ्चार्ज एसएसपी मुकुन्द रिजालको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका केन्द्रीय सचिव संगिता लम्साल, कोषाध्यक्ष राधिका ज्ञवाली, शैक्षिक सामग्री वितरणमा साझेदारी गर्ने एसबीआई बैंकका प्रतिनिधि प्रमोद उपाध्यायको समेत सहभागिता रहेको थियो ।

नेपाल प्रहरीमा कार्यरत राष्ट्रसेवकका परिवार (श्रीमती)लाई सामाजिक सेवामा अभिप्रेरित गर्ने उद्देश्यले २०४१ साल भदौ ४ गते स्थापना भएको संघको नेतृत्व विधानतः प्रहरी इञ्चार्जका श्रीमतीले बहन गर्ने व्यवस्था रहेको छ । संघले लोककल्याणकारी कार्यक्रम तथा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २०८३ साउन ८ गते शुक्रबार