राेल्पा – ल्पाका लोकेन्द्र पुनले तीन दिनअघि फेसबुकमा सार्वजनिक गरेको १८ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । बिहीबार बेलुका साढे ८ बजेसम्म उक्त भिडियो २ करोड ६० लाखभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ८ लाख ४८ हजार लाइक, १० हजार ४ सयभन्दा बढी कमेन्ट र ५ हजार ७ सय सेयर पुगेको छ ।
पानी परिरहेका बेला फरक–फरक रंगका प्लास्टिक ओढेर पहाडी बाटोमा आफ्नै तालमा हिँडिरहेका तीन बालिकाको दृश्यले धेरैको ध्यान तानेको छ । पुनले ‘हेलो साथीहरू…’ भन्दै पटक–पटक बोलाउँदा पनि बालिकाहरूले कुनै प्रतिक्रिया नदिई फटाफट आफ्नो बाटो लागेका थिए । पछाडिबाट खिचिएको भिडियोमा उनीहरूको अनुहार भने देखिएको थिएन ।
धेरै दर्शकले बालिकाहरूको अनुहार देखाइदिन आग्रह गरेपछि पुनले बिहीबार बिहान फेरि उनीहरू भेटेर भिडियो खिचेका थिए । उनले बाटो छेकेर बोलाउन खोजे पनि बालिकाहरूले यसपटक पनि केही नबोली आफ्नो यात्रा निरन्तर राखेका थिए । त्यसपछि घटनाबारे थप बुझ्न पुन बिहीबार दिउँसो रोल्पाको रुन्टीगढी गाउँपालिका–४ तोलबाङस्थित बालिकाहरूको घर पुगेका थिए ।
घरमा पुगेपछि दुई बालिका एउटै घरका र अर्की अर्को घरकी रहेको तथा तीनै जनाका बुवा रोजगारीका लागि विदेशमा रहेको खुलेको थियो । घरबाट विद्यालय पुग्न करिब ४५ मिनेट हिँड्नुपर्ने भएकाले उनीहरू दैनिक सँगै आवतजावत गर्ने गरेका रहेछन् ।
आमाहरूले बाटोमा कसैसँग नबोल्नु र कसैले दिएको नखानु भनेर सिकाएकाले पुनले बोलाउँदा पनि उनीहरू मौन बसेका रहेछन् । घरमा भने आमाहरूको उपस्थितिमा उनीहरूले खुलेर कुरा गरेका थिए भने विदेशमा रहेका बुवाहरूले भिडियो भाइरल बनाइदिएकोमा पुनलाई धन्यवाद दिएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्