२०८३ साउन ५ , मंगलबार (2026 Jul 22, Wednesday)

रोपाइँ चलिरहेकै खेतमा पहिरो : ६ जना घाइते



नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा धान रोपाइँ गरिरहेका किसानमाथि सोमबार अपरान्ह अचानक पहिरो खस्दा छ जना घाइते भएका छन् । स्थानीय नोमराज भट्टको खेतमा रोपाइँ भइरहेको समयमा माथिबाट आएको पहिरोले खेत बगाएको हो ।

घटनामा ६५ वर्षीय नारायणप्रसाद भट्ट गम्भीर घाइते हुनुभएको छ । पहिरोसँगै बग्नुभएका उहाँलाई करिब ७ देखि ८ सय मिटर तल जंगल क्षेत्रबाट उद्धार गरिएको थियो । उहाँको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको स्थानीय चारघेर उपस्वास्थ्य चौकीमा उपचार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो खस्न थालेको देख्नेबित्तिकै खेतमा काम गरिरहेका अधिकांश किसान भाग्न सफल भएकाले थप मानवीय क्षति हुनबाट जोगिएको हो । पहिरोले करिब सात रोपनी क्षेत्रफलको खेत  बगाएको स्थानीय नोमराज भट्टका छोरा रामशरण भट्टले बताउनुभएको छ ।

प्रकाशित मिति : २०८३ साउन ५ गते मंगलबार