
दैलेख – दैलेख जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ अवधिमा परेका मुद्दामा ८० प्रतिशत मुद्दा फर्छ्यौट गरेकाे जनाएको छ । बिहीबार अदालतको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा अदालतले कुल ५ सय ५४ मध्ये ४ सय ४२ अर्थात ८० प्रतिशत प्रगति हासिल गरेको विवरण दिइएकाे छ ।
अदालतमा परेका मुद्दाकाे ८० प्रतिशत फैसला भएकाे याे संख्या अदालतकाे वार्षिक ६५ प्रतिशत लक्ष्यको १ सय १२ प्रतिशत उपलब्धी हासिल भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले बताउनुभयाे ।
अघिल्लाे आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय ४६ र नयाँ दर्ता भएका ४ सय ८ समेत कुल ५ सय ५४ थान मुद्दा मध्ये ४ सय ४२ थान मुद्दा फैसला भएपछि अव १ सय १२ थान मुद्दा बाँकी रहेका मल्लले तथ्यांक दिनुभयाे ।
सर्वाेच्च अदालतले २ वर्ष भित्र फैसला गरिसक्नु पर्ने भए पनि दैलेखले जिल्ला अदालतमा अब एक वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको बताइएकाे छ । छ महिनाभन्दा बढी अवधिका ११ थान मुद्दा बाँकी छन् । ती मध्ये ७ थान सम्बन्ध विच्छेदका मुद्दा कानुनी व्यवस्था अनुसार एक वर्षको प्रतीक्षामा राखिनु पर्ने प्रावधानका कारण प्रक्रियामा रहेका जानकारी दिइएकाे छ ।
सम्बन्ध विच्छेदका मुद्दा वाहेक ६ महिना नाघेका ४ थान मुद्दा मध्ये २ थानमा परीक्षण प्रतिवेदन आउन बाँकी, एक थानमा बाहिरी जिल्लाबाट तामेली प्राप्त हुन बाँकी र एक थानमा फाँटवारी पेश हुन बाँकी रहेको अदालतले जनाएको छ । बाँकी १ सय १ थान सबै मुद्दा ६ महिनाभित्रका रहेका विवरणमा उल्लेख छ ।
अदालतले गुणस्तरीय र समयमै न्याय सम्पादनलाई प्राथमिकतामा राख्दै कार्यसम्पादन गरेकाले लक्ष्यभन्दा बढी उपलब्धि हासिल भएको जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बताउनुभयो । उहाँले बाँकी रहेका मुद्दासमेत कानुनी प्रक्रिया पूरा गरी छिट्टै टुंग्याउने गरी अदालत अघि बढिरहेको उल्लेख गर्नुभयो ।
एक वर्षभन्दा पुराना मुद्दा शून्यमा झार्नु अदालतका लागि महत्वपूर्ण उपलब्धी भएको बताउँदै न्याय सम्पादनलाई थप प्रभावकारी, छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन अदालत निरन्तर सक्रिय रहेको जिल्ला न्यायाधीश पाण्डेले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा जिल्ला सरकारी वकिल कार्यालयका इञ्चार्ज जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, दैलेख बारका अध्यक्ष प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष कमल शर्मा तथा जिल्लाका क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो।










प्रतिक्रिया दिनुहोस्