दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडाबाट कर्णाली नदीमा खसेको भे १ ज १०५५ नम्बरको फोर्स गाडी र बेपत्ता यात्रुको खोजीका लागि चितवनको कुरिनटारबाट विशेष उपकरणसहितको गोताखोर टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली सोनार क्यामरा र म्याग्नेट (चुम्बक) सहित घटनास्थल पुगेको हो । ती उपकरणको प्रयोग गरी शनिबारदेखि खोजी कार्यलाई थप तीव्र बनाइएको छ ।
दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको सनाखत भएको छ । जोखे तिरुवाको शव फेला परिसकेको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकका अनुसार गाडी र अन्य चार जनाको खोजी कार्य जारी छ । दुर्घटनाग्रस्त गाडीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन ।









प्रतिक्रिया दिनुहोस्