दैलेख – कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नपा–७ साँङ्गेतडा नजिकबाट कर्णाली नदीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत भएको छ ।
चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले बताउनुभयाे ।
चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका हुन् । सिर्जना कालिकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी हुन् भने मेखे र जोखे कालिकोटको पचालझरना गाउँपालिका–१ का हुन् ।
दुर्घटनामा मृत्यु भएका जोखे तिरुवाको शव आफन्तले सनाखत गरिसकेको र पोस्टमार्टमपछि परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकले बताउनुभयाे ।
गाडीमा यी पाँच जनाबाहेक अन्य यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । कर्णाली नदीको तीव्र बहावलाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रमा समेत समन्वय गरेर खोजी कार्य जारी रहेको उहाँको भनाइ छ ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार राति करिब ११:३० बजे सडकबाट झण्डै ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो ।










प्रतिक्रिया दिनुहोस्