२०८३ असार १९ , शुक्रबार (2026 Jul 4, Saturday)
साङ्गेतडा दुर्घटना अपडेट

गाडीकाे खाेजी अहिले ७ बजेदेखि थालिने



दैलेख – कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी बिहीबार बेलुकी अबेरसम्म गरिएको खोजतलासका क्रममा पनि फेला पर्न सकेन । वर्षाका कारण नदीको जलसतह बढ्नु र पानी अत्यधिक धमिलो भएकाले उद्धारमा कठिनाइ भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले सुर्खेतबाट पुगेका सशस्त्र प्रहरी बलका ६ जना गोताखोरले खोजी गरे पनि गाडी फेला नपरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी आनन्द सारुका अनुसार गोताखोर टोलीले झन्डै ९५ किलोमिटर क्षेत्रसम्म खोजी गरेको थियो । कर्णालीको तीव्र बहाव र धमिलो पानीका कारण गाडी तथा अन्य बेपत्ता व्यक्तिको अवस्था खुल्न नसकेपछि शुक्रबार बिहान ७ बजेदेखि पुनः खोजी कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनास्थलको भीरमा अचेत अवस्थामा फेला परेका कालिकोटको पातलझरना गाउँपालिका–९ का ३५ वर्षीय जोखे तिरुवालाई दुल्लू अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

गाडीमा कति जना यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । प्रहरीका अनुसार सुर्खेतबाट तीन जनाले टिकट काटेका थिए भने चालक र सहचालकसहित कम्तीमा पाँच जना गाडीमा रहेको अनुमान छ । बाटोबाट थप कति जना चढेका थिए भन्ने विवरण अझै खुलेको छैन ।

सुर्खेतबाट कालिकोटकाे रासकाेटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान करिब ७०० मिटर माथिबाट दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली नदीमा खसेको थियो ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार