दैलेख – विद्यालय र घरपरिवारमा बालमैत्री वातावरण विकास गर्न नारायण नगरपालिकाले अभिभावक शिक्षा सहजकर्ताहरूका लागि अभिभावक शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
बालबालिकाको समग्र विकासमा अभिभावकको भूमिका प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा ३० जना बाल विकास शिक्षक र ८ जना प्राथमिक तहका शिक्षक गरी ३८ जनाको सहभागिता रहेको थियो ।
अभिमुखीकरणमा सहभागीहरूलाई अभिभावक शिक्षाको अवधारणा, प्रारम्भिक बालविकास, सकारात्मक पालनपोषण, विद्यालय र अभिभावकबीचको सहकार्य तथा समुदायस्तरमा अभिभावक शिक्षा सञ्चालनका विषयमा सहजीकरण गरिएको बताइएकाे छ ।
कार्यक्रममा बालबालिकाको सिकाइ उपलब्धि, व्यवहारिक विकास तथा सुरक्षित र बालमैत्री वातावरण निर्माणमा अभिभावकको दायित्व बारे समुदायमा अभिमुखीकरण विधि विषयमा सहजकर्ताहरूलाई प्रशिक्षित गरिएकाे नारायण नगरपालिकाका शिक्षा शाखाका शिक्षा अधिकृत सूर्यलाल पाणडेले जानकारी दिनुभयाे ।
अभिमुखीकरण कार्यक्रम समापन कार्यक्रममा सहभागी बाल विकास शिक्षकहरूका तर्फबाट कमला बादीले कार्यक्रमले अभिभावकसँग काम गर्ने तरिका, बालबालिकाको सिकाइमा परिवारको भूमिका तथा समुदायस्तरमा अभिभावक शिक्षा सञ्चालनका विषयमा थप ज्ञान प्राप्त भएको बताउनुभयो ।
नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले बालबालिकाको गुणस्तरीय विकासका लागि विद्यालयसँगै अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले बालबालिकाको सिकाइ उपलब्धि र व्यवहारिक विकासमा सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो।
शिक्षा शाखा प्रमुख पूर्णप्रसाद उपाध्यायले अभिभावक शिक्षा कार्यक्रमलाई विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले अभिमुखीकरणबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायस्तरमा अभिभावक शिक्षालाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्