दैलेख – राष्ट्रिय जनमोर्चा जिल्ला समिति दैलेखको आयोजनामा संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम गरिएको छ । गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गर्दै संघीयता खारेज गर्नुपर्ने विषयमा अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना ‘प्यासी’ले १५ बुँदे अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो ।
प्यासीले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन अपरिहार्य रहेको बताउनुभयो । उहाँले मुलुकको राष्ट्रिय स्वाधीनता, गणतान्त्रिक व्यवस्था तथा धर्मनिरपेक्षताको संरक्षणका लागि संविधानमा आवश्यक संशोधन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नयाँ राजनीतिक दलहरू विदेशी शक्तिको प्रभाव र निर्देशनमा सञ्चालन भइरहेको आरोपसमेत लगाउनुभयो ।
अवधारणापत्रमाथि विभिन्न राजनीतिक दल तथा पत्रकारिता क्षेत्रका प्रतिनिधिहरूले सुझाव दिनुभएको थियो । सो क्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला संयाेजक मायाराम अधिकारी, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल शर्मा, निवर्तमान अध्यक्ष अमर सुनार, पूर्वअध्यक्ष यज्ञराज थापाले अवधारणापत्रका विभिन्न पक्षबारे आफ्ना धारणा राख्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति दैलेखका अध्यक्ष कमल बराई मगरले देशको वर्तमान राजनीतिक तथा आर्थिक समस्याको समाधानका लागि वामपन्थी शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्