२०८३ भदौ १० , बुधबार (2026 Aug 26, Wednesday)

रसुवा बाढी : ८६ कर्मचारी सम्पर्क विहीन



रसुवा – रसुवामा बुधबार विहान आएको बाढीपछि निर्माणाधीन लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना र विभिन्न बैंकका २६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहित ६० जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएको आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले बताउनुभयो । उहाँले उनीहरूको खोजीका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।

यस्तै, बाढीले रसुवाका नौ वटा वाणिज्य बैंकका शाखामा क्षति पुर्‍याउँदा त्यहाँ कार्यरत करिब २६ जना कर्मचारीसँग सम्पर्क हुन नसकेको नेपाल बैंकर्स संघले जनाएको छ । टेलिफोन र विद्युत् सेवा अवरुद्ध भएकाले सम्पर्क स्थापित गर्न कठिनाइ भएको संघले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । सम्पर्कविहीन भएकाहरूको अवस्था पत्ता लगाउन समेत खोजी भइरहेको रसुवाका प्रहरी इञ्चार्ज डीएसपी अशाेक थापाले बताउनुभयाे ।

प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार