२०८३ भदौ ९ , मंगलबार (2026 Aug 25, Tuesday)

सहयोग गर्न जाँदा ज्यानै रहेन



दैलेख – साथीलाई सहयोग गर्न गएका एक जना चालकलाई खोलाले बगाएर बेपत्ता बनाइदिएको छ । दैलेख सदरमुकामबाट बेस्तडा तर्फ गइरहेको कर्णाली प्रदेश ०२–००१ च ०९०७ नम्बरको बोलेरो जीपका चालक २८ वर्षीय टंकबहादुर मगरलाई नारायण नपा–११ नाउलीखोला स्ल्याव नजिक रोकिएको अटोरिक्सा पार गराउन मद्दत गर्न लाग्दा खोलाकाे भेलले बगाएको हो ।

नाउलीखोला स्ल्यावमा पानीको बहाव देखेर रोकिएका कर्णाली प्रदेश ०२–०१ ह १४८ नम्बरको अटोरिक्साका चालक कमल परियारलाई मद्दत गर्न लाग्दा खोलाको भेलले अटोरिक्सासंग मगर बगेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पहिले आफ्नो बोलेरोले खोला पार गरी सकेर अटोरिक्साका पार गराउन मद्दत गर्न जाँदा यो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बोलेरो चालक मगरको सहायतामा धमिलो खोला तर्न तयार भएका अटोरिक्साका चालक परियार चाहिँ स्ल्यावकै छेउमा अड्किएका तर अटोरिक्सा र मद्दत गर्न आएका मगरलाई पानीले बगाएको हो । मगर बगे लगतै यात्रुहरुले खोजी प्रयास गरे पनि रातिको समय भएको कारण खोजी कार्यमा वाधा परेको नातेदार नरबहादुर मगरले भन्नुभयो ।

रातभर भारी वर्षा भएको, नाउलीखोला देखि करिब सय मीटर तल कट्टीखोला र करिब ३ किलोमीटर टाढा लोहोरे खोलामा मिसिएको कारण चालक मगरको शव समेत फेला परेको छैन । घटनास्थल आसपास र करिब ३० किलोमीटर टाढा कर्णाली नदीकाे स‌ंगम तल्लो डुंगेश्वरसम्म लाेहाेरेखाेला वारिपारी प्रहरी र आफन्तले खोज्दा समेत शव फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्रवणकुमार बिकले बताउनुभयो ।

खोलाले बगाएर वेपत्ता पारेका चालक २८ वर्षीय टंकबहादुर मगर भगवतीमाई गाउँपालिका–५ बडालेखका बासिन्दा भएको हुन । उनका श्रीमती, दुई छाेरी र एक छाेरा छन् । दुर्घटना लगतै राति नै फरार भएका भगवतीमाई गाउँपालिका–२ रुमका अटोरिक्साका चालक कमल परियारलाई प्रहरीले खोजी गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मध्यपहाडी राजमार्गले बेस्तडादेखि लोहोरे खोलासम्म सिंगल प्यानको पुल बनाउन पर्ने ५–६ वटा खोलाहरुमा पनि पीसीसी स्ल्याव बनाएको कारण वर्षातको मौसममा यस्ता दुर्घटना हुने गरेका छन् । हिउँदको समयलाई हेरी प्राविधिकहरुले आयोजनाको डिजाइन गरी बनाएका तर वर्षातको मौसममा खहरे खोलाको भेल आउने भएकोले यातायातका साधन र यात्रुहरु बग्ने गरेका छन् ।

प्रकाशित मिति : २०८३ भदौ ९ गते मंगलबार