२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

वर्षापछि पाँच मुख्य राजमार्ग प्रभावित



काठमाण्डाैं – पहिरो र बाढीका कारण देशका विभिन्न पाँच मुख्य राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान ७ बजेसम्म ७ स्थानमा सडक अवरुद्ध भएको जानकारी दिएको छ । ललितपुरको बागमती गाउँपालिका–३ पाङ्दुरमा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपशम्सेर जवराले जानकारी दिनुभयाे ।

यसअघि पनि यही सडकको हेटौंडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । भोजपुर नगरपालिका–१ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भएको छ । उक्त सडक एकतर्फी सञ्चालनमा रहेको र वैकल्पिक मार्ग प्रयोग भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, इलाम नगरपालिका–९ राजदुवालीमा पहिरोका कारण मेची राजमार्ग अन्तर्गत झापा–ताप्लेजुङ सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ भने वैकल्पिक मार्ग सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।काभ्रेको विपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालन रोकिएको छ ।

त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित तातोपानी सडक र भोटेकोशी–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्गका दुई स्थान पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले बताएको छ । वर्षाकाे समय भएकाेले अतिआवश्यक भए मात्र यात्रा गर्न र यात्रा अघि माै‌समी पूर्वानुमान बारे जानकारी लिन प्रहरीले आग्रह गरेकाे छ ।

प्रकाशित मिति : २०८३ साउन १४ गते बिहीबार