दैलेख – दैलेख प्रहरीले असार महिनाभर १६ वटा विभिन्न प्रकृतिका अपराधका मुद्दा दर्ता भएका छन् । साउनदेखि दुल्लू इलाका प्रहरी कार्यालयबाट मुद्दा चलाउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले जानकारी दिनुभयाे ।
जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको असार महिनाकाे मासिक प्रगति विवरण अनुसार जघन्य अपराधका २, गम्भीर अपराधको १ र सामान्य अपराधका ३ मुद्दा दर्ता भएका छन् ।
यस अवधिमा कर्तव्य ज्यानका ८, भवितव्य ज्यानका ३, सवारी भवितव्यका २ र विष सेवनका २ गरी दुई वर्षभन्दा पुराना १६ वटा मुद्दा पनि दर्ता भएका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज राेकायले जानकारी दिनुभयाे ।
फरार रहेका ८ प्रतिवादी पक्राउ परेका छन् भने फैसला कार्यान्वयनबाट ६ लाख १२ हजार रुपैयाँ जरिवाना असुलीका साथै १२ वर्ष ११ महिना ८ दिन कैद सजाय कार्यान्वयन गरिएको उहाँले जानकारी दिनुभयाे ।
प्रहरीका अनुसार असारमा घरेलु हिंसासम्बन्धी १७ र सामाजिक हिंसासम्बन्धी २४ गरी ४१ वटा उजुरी दर्ता भएका छन् । सोही अवधिमा ५ जनाले आत्महत्या गरेका छन् भने ७ जनाले आत्महत्याको प्रयास गरेका छन् ।
आत्महत्याको मुख्य कारण दैलेखमा झुन्डिएर आत्महत्या गर्ने ४ र विषादी सेवनबाट १ जनाको मृत्यु भएको उल्लेख छ । आत्महत्या प्रयासमध्ये १ जनाले झुन्डिन र ६ जनाले विषादी सेवन गरेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी राेकायले जानकारी दिनुभयाे ।
असार महिनामा जिल्लामा ५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ४ जनाको मृत्यु, ४ जना घाइते र ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिकले बताउनुभयो ।
साँघुरा तथा जीर्ण सडक, तीव्र गति र ओभरटेकका कारण अधिकांश दुर्घटना भएको विश्लेषण गरिएको छ । यस अवधिमा ट्राफिक कारबाहीबाट ४ लाख ४४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
विपद्का ५ वटा घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । आगलागी, अविरल वर्षा र चट्याङका घटनाबाट करिब ८ लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको डीएसपी बिकले जानकारी दिनुहाेला ।










प्रतिक्रिया दिनुहोस्