२०८३ असार १४ , आइतबार (2026 Jun 28, Sunday)

स्वच्छ खानेपानीकाे लागि विद्यार्थीहरूद्वारा लिखित अनुराेध



दैलेख – विद्यालयको आन्तरिक व्यवस्थापनकाे कमजोरीकाे कारण  विद्यार्थीहरूले स्वच्छ खानेपानी समस्या भाेगेकाे भन्दै भैरबी गापा-४ डाँडीमाडीस्थित हिमालय माविमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराइदिन विद्यार्थीहरूले लिखित रुपमा माग गरेका छन् ।

हिमालय मावि डाँडीमाडीका विद्यार्थीहरुका तर्फबाट कक्षा ७ का छात्र बिशाल बिकले विद्यालयमा पुग्नु भएकी भैरबी गाउँपालिका अध्यक्ष रिताकुमारी शाहीलाई बुझाइएको लिखित रुपमा समस्या उठाइएको हाे ।

पत्रमा भनिएको छ ‘हाम्रो विद्यालयमा स्वच्छ खानेपानी नभएकाले हामी विद्यार्थीहरू धमिलो पानी पिउन बाध्य छौं, जसका कारण धेरै विद्यार्थीमा स्वास्थ्यमा नकारात्मक असर पारेकाे र कतिपय अवस्थामा रोगहरू देखिएकाे छ ।’

विद्यालयको धारा र ट्याङ्कीमा पानी जमेकाे लेउले फाेहाेर भएको, पानी फिल्टर प्रणाली नभएको, सरसफाइ सामग्री समेत उल्लेख गर्दै प्रत्येक कक्षा कोठामा फिल्टर, जग, बाल्टिन र कुचोको व्यवस्था गरिदिन विद्यार्थीहरूले अध्यक्ष शाहीसंग माग गरेका छन् ।

पाठ्यक्रम बिना नै परीक्षा

भौतिक पूर्वाधारको यस्तो दयनीय अवस्था र कक्षा ९ को प्राविधिक धारमा विद्यार्थी भर्ना यस बर्ष जम्मा संख्या २ मा खुम्चिँदा समेत स्थानीय जनप्रतिनिधि र भैरबी गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखा भने मूकदर्शक बनेको छ ।

विगत १० वर्षदेखि भैरबी गाउँपालिका क्षेत्रका विद्यालयमा न त कुनै अतिरिक्त क्रियाकलाप भएका छन्, न त स्थानीय पाठ्यक्रम नै बन्न सकेको छ । विद्यार्थीहरू पाठ्यक्रम नै नदेखी, बिना पाठ्यक्रम परीक्षा दिन बाध्य भइरहेका छन् ।

राजनीतिक अखडा र आन्तरिक गुटबन्दीका कारण ‘नमुना विद्यालय’को यो हविगत हुनु र प्राविधिक शिक्षातर्फ विद्यार्थीको संख्या शून्य प्रायः हुनुले भैरबी गाउँपालिकाको समग्र शिक्षाको गुणस्तर कमजोर हुँदै गएकाे छ ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार