दैलेख – लागू औषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा दैलेखमा प्रभातफेरी, बृहत् सचेतनामूलक कार्यक्रम तथा दीप प्रज्ज्वलन गरी दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखको आयोजनामा सम्पन्न कार्यक्रममार्फत लागू औषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्ध जनचेतना अभिवृद्धि गर्दै यसको रोकथाममा सबै क्षेत्रको साझा भूमिका आवश्यक रहेको सन्देश दिइएको हो ।
दिवसका अवसरमा सदरमुकामबाट निकालिएको प्रभातफेरीले बजार क्षेत्र परिक्रमा गरेपछि जिल्ला समन्वय समिति दैलेखको सभाहलमा बृहत् सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थी, यातायात व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।
सचेतनामूलक कार्यक्रममा दैलेख अस्पतालका इञ्चार्ज डा. मनोज बिश्वकर्माले लागू औषध दुर्व्यसनले व्यक्तिको शारीरिक, मानसिक तथा सामाजिक जीवनमा दीर्घकालीन असर पार्ने बताउनुभयो । उहाँले दुर्व्यसनका कारण युवापुस्ताको अध्ययन, पारिवारिक सम्बन्ध, आर्थिक अवस्था र भविष्यसमेत जोखिममा पर्ने उल्लेख गर्दै विद्यालय, परिवार र समुदायको संयुक्त प्रयासबाट मात्र यसको रोकथाम सम्भव हुने धारणा राख्नुभयो । समयमै सचेतना फैलाउनु नै दुर्व्यसन नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजकुमार थापाले लागू औषध सेवन, कारोबार तथा ओसारपसार कानुनले दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले लागूऔषध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै अभिभावक, विद्यालय, स्थानीय तह, नागरिक समाज र समुदायको सक्रिय सहकार्य आवश्यक रहेको बताउनुभयो । लागू औषधसँग सम्बन्धित कुनै पनि गतिविधिको जानकारी पाए तत्काल प्रहरीलाई सूचना दिन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही, प्रमुख जिल्ला अधिकारी आनन्द सारु, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिश्वकर्मा लगायतले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यसको रोकथामका लागि सचेतना, समन्वय र कानुनको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । उहाँहरूले लागूऔषधमुक्त समाज निर्माणका लागि हरेक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।
संयुक्त राष्ट्रसंघको निर्णयअनुसार लागूऔषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्ध विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सन् १९८७ देखि हरेक वर्ष जुन २६ तारिखमा लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै आएको छ । सोही अवसरमा दैलेखमा प्रभातफेरी, बृहत् सचेतनामूलक कार्यक्रम तथा साँझ दीप प्रज्ज्वलन गरी दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्