२०८३ साउन ८ , शुक्रबार (2026 Jul 25, Saturday)

वैशाख ७ गतेदेखि महोत्सव सुरु हुँदै



दैलेख – दैलेख उद्योग बाणिज्य संघले बैशाख ७ गतेदेखि १९ गतेसम्म दैलेख महोत्सव सञ्चालन गर्ने भएको छ । उद्यम, कृषि, पर्यटन र व्यापार, समृद्ध दैलेखको मूल आधार भन्ने मूल नारा सहित कर्णाली प्रदेश स्तरीय उद्यम, कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको रूपमा आयोजना गर्न लागिएको दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो ।

स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास तथा व्यापार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुती रहने आयोजकले जनाएको छ । कार्यक्रममा दुर्गेश थापा, शिव परियार, प्रकाश सपुत, पल शाह, बद्री पंगेनी, रचना रिमाल, ज्योति मगर, एलिना चौहान लगायतका चर्चित कलाकारहरूको सहभागिता रहनेछ ।

त्यसैगरी कलाकारहरू इब्सल सञ्ज्याल, रीता केसी, पार्वती क्षेत्री, सन्जु न्यौपाने, संगीता बडुवाल, विपना सिंह, यशोदा देवकोटा र उपेन्द्र केसी समेतको प्रस्तूती रहनेछ । महोत्सव व्यवस्थापनको जिम्मा जय माता दी एम्युजमेन्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले लिएको छ मेलामा ‘जलपरी’ लगायतका मनोरञ्जनात्मक आकर्षणहरू पनि समावेश गरिनेछन् ।

स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्यमशीलताको विकासमा टेवा पुग्ने विश्वास गरिएको दैलेख उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो । उहाँले महोत्सवको टिकट बिक्री, स्टलको भाडा र विभिन्न सहयोगी निकायहरुको अनुदानबाट दैलेखको उद्योग बाणिज्य संघको भवनमा एक तला थप्ने योजना रहेको सुनाउनुभयो ।

प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार