दैलेख – पतिको मृत्यूमा पत्नीले जीवनभरी सेतो पहिरनमा रहने, गहना नलगाउने, चुरा–पोते र सिन्दूर–टीका पनि नलगाउने हिन्दू धर्ममा चलन छ । ती महिलाले कृयाकर्ममा मुख्य भूमिका निर्वाह गर्नु नै पर्छ । तर पत्नीको मृत्यूमा पतिले कृया कर्म गर्न पर्दैन भन्ने धार्मिक र सामाजिक मान्यता अझैं पनि कायम छ ।
पत्नीको मृत्यूमा कृया बस्नु पर्दैन भन्ने त्यो पुरातन मान्यतालाई तोड्दै दैलेखका पत्रकार बिशाल सुनारले चुनौती दिएर आफै मूल कृयापूर्तिको रुपमा काजकृया गरिरहनुभएको छ । ‘पतिले कृया बस्न पर्दैन नबस्’ भन्नेहरुलाई जीवनभरका लागि संगै जिउने बाचा गरेकी पत्नीको मृत्यूमा ‘म आफै मूल कृया किन नबस्ने ? बस्छु नि’ भनेर प्रश्न गरी दिएपछि कसैले केही बोलेनन् र बिशाल आफै कृया बस्नुभएको छ ।
सुर्खेतदेखि दैलेखका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ज ०८६२ नम्बरको इभी हाइस चैत ६ गते अपरान्ह दैलेखको गुराँस गाउँपालिका–४ रिठामा भएको दुर्घटनामा घाइते हुनुभएकी बिशालकी पत्नी ३६ वर्षीया संगीता रानाको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा चैत १६ गते मृत्यू भएको थियो ।
१३ वर्ष अघि विवाह गर्नुभएका नारायण नगरपालिका–१ दैलेखबजार निवासी बिशाल र संगीताका एक मात्र सन्तान १२ वर्षका छोरा छन् । धेरैको सुझाव थियो ‘छोरालाई मूल कृया बसाले हुन्छ’ तर बिशालले आफू नै मूल कृया बस्छु भनेपनि समाजका अरु मान्छेहरुले खासै अवरोध जनाएनन् ।
दुई दशक लामो पत्रकारितामा फोटो र भिडियोग्राफी तर्फ दैलेखका स्थापित पत्रकार बिशाल सुनार सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा पनि योगदान रहेको छ । पत्नीको मूल कृयामा बसेको सन्दर्भमा बिशालले थप्नुभयो ‘हामीले आदर्श बोल्ने मात्र होइन जीवनमा देखाउन पनि सक्नुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्