दैलेख – मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. धु्रवकुमार गौतमले विश्वविद्यालय स्वरोजगारी सिर्जना गर्ने र प्रतिस्पर्धामा अब्बल बनाउन शिक्षण प्रणाली तयारी गरिरहेको बताउनुभएको छ । नारायण बहमुखी क्याम्पसले आजदेखि सुरु गरेको ६ दिने दोश्रो अन्तर संकाय खेलकुद प्रतियोगिताको उदघाटन गर्दै उहाँले सो योजना सुनाउनुभएको हो ।
उपकुलपति प्रा.डा. गौतमले शैक्षिक गुणस्तर सुधारमा अतिरिक्त क्रियाकलापले पनि महत्वपूर्ण भूमिका खेल्ने भएकोले विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा खेलकुद प्रतियोगिता गराएको प्रष्ट्याउनुभयो । क्याम्पसको शैक्षिक गुणस्तरले विद्यार्थी बढ्ने र सरकारी श्रोतमा सहज हुने भएकोले क्याम्पसका प्राचार्यहरुलाई मेहनत गर्न उहाँले सुझाव दिनुभयो ।
मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. पन्नाबहादुर थापाले शिक्षा आर्जनमा विद्यार्थीको पनि लगाव महत्वपूर्ण हुने बताउनुभयो । विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शोभाकर कँडेलले विश्वविद्यालय कमाउदै पढ्दैका कार्यक्रम थालिएको र क्याम्पसका शिक्षण क्रियाकलापहरु प्रविधिमैत्री बनाइएकोले विद्यार्थी संख्या बढ्दै गरेको सुनाउनुभयो ।
नारायण बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरबहादुर शाहीको अध्यक्षतामा भएको खेलकूद प्रतियोगिता उदघाटन कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर तप्ताकुमारी थापा, नारायण क्याम्पसका पूर्व अध्यक्ष खड्गबहादुर सिजापती, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, क्याम्पसका स्ववियू कोषाध्यक्ष सुष्मा शाहीले पनि बोल्नुभएको थियो ।
आजदेखि १५ गतेसम्म लगातार ६ दिन चल्ने दोश्रो अन्तर संकाय खेलकूद प्रतियोगितामा नारायण बहुमुखी क्याम्पसमा स्नातक तर्फ शिक्षा, मानविकी र व्यवस्थापन संकाय तथा स्नातकोत्तर तहमा शिक्षा संकाय अध्ययनरत विधार्थीहरुले भलिबल, फूटसल, दौड, म्यूजिकल चियर लगायतका खेलहरुमा संकायगत प्रतिस्पर्धा गर्ने क्याम्पसले जानकारी दिएको छ ।











प्रतिक्रिया दिनुहोस्