दैलेख – शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनमा बालबालिकाको दुरुपयोग रोक्न नागरिक समाजको अग्रसरता लिन आग्रह गरेको छ । दैलेखको जम्बुकाँधमा नागरिक समाज र पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समितिका सचिव बिष्णु न्यौपानले यस्तो आग्रह गर्नुभएको हो ।
विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ र निर्वाचन आचार सहिंता २०८२ को परिच्छेद २ ले बालबालिकाको सुरक्षा निम्ति निर्वाचन प्रचारप्रसारमा झण्डा बोक्न, नाराबाजी गर्न, नृत्य, गायन, प्रचार सामग्री वितरणमा प्रयोग गर्न नपाइने व्यवस्था भएकोले नागरिक समाजले निगरानी बढाउनेपर्ने उहाँले दर्शाउनुभयो ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनारले राजनीतिक दल र उम्मेदवारहरुका कार्यक्रमहरुमा बालबालिका दुरुपयोग रोकथाम विषयमा नागरिक समाज र पत्रकारहरुसंग गरिएको अन्तरक्रियाले निगरानी बढाउने र आचार सहिंता उलंघन भएको पाइएमा विना पूर्वाग्रह मिडियाले समाचार सम्प्रेषण गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा चामुण्डाबिन्द्रासैनी स्तरीय नागरिक समाजका सचिव प्रकाश भण्डारीले नागरिक समाजले खबरदारी गर्ने र निर्वाचन आचार सहिंता उलंघन भएको तथ्यका आधारमा आमसञ्चार माध्यमले समाचार लेखेपछि सरकारका निकायहरुले कारवाही गर्नुपर्ने बताउनुभयो । ती कामका लागि नागरिक समाज र पत्रकारहरुका वीच सहकार्य आवश्यकता दर्शाउनुभयो ।
अन्तरक्रियाको क्रममा शिक्षा पत्रकार समूह कर्णाली प्रदेश समितिका सचिव न्यौपाने र सदस्य दिपक शाहीले विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ र निर्वाचन आचार सहिंता २०८२ को परिच्छेद २ ले बालबालिकाको दुरुपयोग रोकथाम सम्बन्धी व्यवस्था र त्यसको कार्यान्वयन प्रणाली विषयमा विषय केन्द्रित सहजीकरण गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्