२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

दैलेखका दुई क्षेत्रमा २१ उम्मेदवारी दर्ता



दैलेख – प्रतिनिधिसभा सदस्य पदका लागि फागुन २१ गते हुने निर्वाचनका लागि दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको उत्साहपूर्ण सहभागितामा उम्मेदवारी मनोनयन दर्ता भएका छन् । दुवै निर्वाचन क्षेत्रमा ९ वटा राजनीतिक दलका १८ उम्मेदवार, क्षेत्र नं. १ मा एक जना र क्षेत्र नं. २ मा दुई स्वतन्त्र समेत २१ जना उम्मेदवारको मनोनयन परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दिएको जानकारी अनुसार दैलेख क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट बासना थापा, नेपाली कम्यूनिष्ट पार्टीको उम्मेदवारको रुपमा निवर्तमान साँसद अम्मरबहादुर थापा, नेपाल मजदुर किसान पार्टी जगत बहादुर ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेत, राष्ट्रिय जनमोर्चाबाट नरबहादुर सिंहको उम्मेदवारी दर्ता भएको छ ।

आम जनता पार्टीकी मेनका श्रेष्ठ, राप्रपाका रणबहादुर सिंह, नेकपा एमालेबाट रबिन्द्रराज शर्मा, रामलाल बिश्वकर्मा, विप्लव समूह भनेर चिनिने नेकपा (माओवादी) पार्टीबाट राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष रामलाल बिश्वकर्मा र एक जना मात्र स्वतन्त्र व्यक्तिका रुपमा ६५ वर्षीय लोगबहादुर बोगटीको उम्मेदवारी परेको छ । क्षेत्र नंं. १ मा सबै भन्दा बढी ७० वर्षका निवर्तमान थापा दोश्रो ज्येष्ठतामा हुनुहुन्छ ।

निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार निर्वाचन क्षेत्र नं. २ मा राजमोका कमलबहादुर बरै मगर, नेमकिपाका बखतबहादुर थापा, विप्लव समूह नेकपा (माओवादी)का कलम सिंह, रास्वपाका बखतबहादुर शाही, नेपाली कम्यूनिष्ट पार्टीका योगेन्द्रबहादुर शाही, नेकपा एमालेबाट संविधानसभा सदस्य लक्ष्मीप्रसाद पोखरेल, राप्रपाकी बबिताकुमारी शाहीले उम्मेदवारी दिनुभएको छ ।

आम जनता पार्टीकी उम्मेदवार दर्ता गराउदै ।  (फाेटाे साैजन्य : दिपेन्द्र कार्की)

नेपाली काँग्रेसका दिक्पालकुमार शाही, आम जनता पार्टीकी तीर्थाकुमारी बंशीमगर, दुई जना स्वतन्त्र उम्मेदवारहरु ३८ वर्षीय लालबहादुर कठायत र २६ वर्षीय हिमबहादुर शाहीले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नंं. २ मा सबै भन्दा बढी उमेर नेपाली काँग्रेसका उम्मेदवार शाही र दोश्रोमा एमालेका पोखरेल ६३ वर्ष उमेर पुग्नुभएको छ ।

उम्मेदवारी दर्ता दैलेखमा समग्र रुपमा शान्त र मर्यादित भएको दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले बताउनुभयो । क्षेत्र नं. २ मा पनि एकदम राम्रो राजनीतिक मझदारीका साथ दलका उम्मेदवार र स्वतन्त्र व्यक्ति समेत ११ जनाले उम्मेदवारी दिएका सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपानेले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्ताका दिन निर्वाचन क्षेत्र नं. १ मा जम्मा १० र क्षेत्र नं. २ मा चाहि ११ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगको कार्यसूची अनुसार भोलि माघ ७ गते उम्मेदवारी विरुद्ध दावी बिरोध, पसिं ८ गते उम्मेदवारी फिर्ता र ९ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार