२०८१ पुस ९ , मंगलबार (2024 Dec 24, Tuesday)

आजदेखि तिहार सुरु, भाइटीका १८ गते



दैलेख – कात्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी भएकाले आजदेखि तिहार सुरू हुने र भोलि कात्तिक १४ गते बुधबार काग तिहार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्राध्यापक अधिकारीले उल्लेख गर्नुभयो । उहाँका अनुसार रातमा औंसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औंसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेकोले यस दिन तिहारका कुनै पर्व परेको छैन ।

गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ। नेवारी परम्परा अनुसार कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ वर्ष मनाइने नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरू हुन्छ ।

कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ । शुभसाइत खोज्नेले विहान ११ः३७ बजे भाइटीका लगाइए पनि सूर्योदयदेखि साँझ सूर्यास्त नभएसम्म भाइटीका लगाउन सकिने सँस्कृतिबिदहरूले बताएका छन् ।

गाउँमा दियो बाल्ने गरे पनि सहरमा थरीथरीका बिजुलीबाट बल्ने बत्ती बाल्न सुरू भइसकेका छन् । झिलीमिलीमा देउसी, भैलोको रमाइलोसँगै तिहारमा जुवा खेल्ने गैरकानूनी कामहरु पनि हुने गर्दछन् । तिहारको बेला कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा खेलिने भोसो पनि मौलिक सँस्कृति बनेको छ । तिहारपछि जात्राको सिजन भएको मानिन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १३ गते मंगलबार