२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

यस्ताे घाउसित कसरी फाेटाे खिचाउनु ?



पहिले र अहिले

दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका-१ चापागाउँका २५ वर्षका ललितकुमार बिक २ वर्ष लामो भारत बसाईपछि तिहार मान्न पत्नी, दुई छोराछोरी र ६ जना साथीहरु सहित कात्तिक ३ गते घर पुग्दै थिए, तल्लोडुंगेश्वरमा साँझ ९ बजेतिर खाना खाइवरी रातिराति घर पुग्नेे आफ्नै गाउँकै नन्दाराम खत्रीको फोर्स गाडीमा यात्रारत थिए । तल्लोडुंगेश्वरदेखि करिब तीन घण्टा यात्राको लक्ष्य थियो, दुई घण्टा यात्रापछि डंसुर पुग्नै लाग्दा ललितलाई पिसावले असाध्यै च्याप्यो ।

चालकलाई अनुरोध गरेर पिसाव गर्न गाडीबाट ओर्लिन लाग्दा ढोकै नजिकको सीटमा बसेका चामुण्डाबिन्द्रासैनी नगरपालिका-४ आयरपाटाका २७ वर्षीय सुरेश शाहीको खुट्टामा टेकिएछ, सुरेशले एैया भन्दै गाली गरे, ललितले माफी मागे । सुरेशले आमा गाली दिंदै थिए ललित हतारमै पिसाव गर्न झरे । उनी पिसाव गर्दै थिए सुरेशले पछिल्तिरबाट लात्ती हाने ललितलाई घुत्रुक्क सडकमा पछारे अनि लात्ती मुक्काले अनुहार, छात्ति र कोखामा लगातार हानिरहे ।

ललितले त्यसबेला गुहार मागे, ललितका साथीहरु पनि गाडीबाट ओर्लिए । गोदाई खाइन्छ होला भन्ने ठानेर होला सुरेश त्यतैबाट गाउँतिर पसे तर ललितको छात्ति, कोखामा भित्री चोट थियो अनि साथमा भएको ७० हजार नगद हरायो । मुखभरी चोट थियो, नाकको भाँचिइसकेको रहेछ । रातिराति गाउँ पुगेर विहान गाउँकै मेडिकलमा प्राथमिक उपचार गराउँदा मात्र नाक भाँचिएको कुरा थाहा भयो, थप उपचारका लागि ललित सुर्खेतको कर्णाली प्रदेश अस्पताल पुगे ।

परिवार सहित सुरेश

प्रदेश अस्पतालमा तिहार विदाको कारण हाड जोड्नीको डक्टर नभएको भनी प्रदेश अस्पतालले नै देउती अस्पतालमा पठायो । त्यहाँ नाकको सर्जरी भयो, ४ साता पुग्दा समेत उनको नाक र टाउकोको पट्टी हटेको छैन । कुटपिट गर्ने सुरेश सुर्खेतमा लुकी बसेको बताइन्छ, उनका बुबा कर्णबहादुर शाही र परिवारजनहरुसंग उपचार खर्च हेरिदिनू भन्ने अनुरोध पनि बेवास्ता गरेको ललितको भनाई छ । घटना लगतै जम्बुकाँध प्रहरी चौकीमा उजुरी गरे पनि प्रहरीले पक्रेको छैन ।

खुट्टा कुल्चिन पुगेको सामान्य गल्तीमा सुरेशले ललितको नाकै भाँचे । उपचार खर्च व्यहोदिन पीडक पक्षले वेवास्ता गरिरहेको छ, आरोपित सुरेश शाहीलाई फेला पार्न नसकिएको भनेरै जम्बुकाँध प्रहरीले टारिरहेको छ । आरोपित पक्षलाई पटकपटक फोन र मेसेज गर्दा समेत परहेरदारको सम्पर्कमा पनि आएनन् । ललितले तिहार मान्न पाएनन्, मतदाता नामावली नाम दर्ता गराउन सदरमुकाम आएका ललित यस्तो पट्टिसंग कसरी फोटो खिचाउनु ? पीर बोकेका छन् !

प्रकाशित मिति : २०८२ कात्तिक २९ गते शनिबार