२०८३ जेठ १४ , बिहीबार (2026 May 28, Thursday)

दैलेखमा विपद उद्धार सम्बन्धी अभ्यास



दैलेख – मनसुनको जोखिम बढ्न थालेसँगै दैलेखमा सुरक्षा निकायहरूले संयुक्त रूपमा विपदकाे उद्धार, उपचार र राहत सहयाेग अभ्यास गरेका छन् । बाढी, पहिराे‍  जस्ता प्राकृतिक विपद्का बेला तत्काल उद्धार र समन्वय कसरी गर्ने भन्ने उद्देश्यले लोहाेरे खोलामा अभ्यास प्रदर्शन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दैलेखको समन्वयमा कालिदत्त गुल्म काँडाचौर व्यारेक, जिल्ला प्रहरी कार्यालय दैलेख र सशस्त्र प्रहरी बल दैलेखको संयुक्त आयोजनामा डुङ्गेश्वर गाउँपालिका–१ चुप्रास्थित लोहाेरे खोलामा बिहीबार अभ्यास कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रमका जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी आनन्द सारुले विपद्को समयमा सुरक्षा निकायबीचको समन्वय, शीघ्र प्रतिकार्य र उद्धार दक्षता अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यस्ता अभ्यासले वास्तविक विपद्का बेला जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

अभ्यासका क्रममा बाढीमा फसेका व्यक्तिको उद्धार, डोरी प्रयोग गरेर सुरक्षित स्थानमा सार्ने प्रक्रिया, प्राथमिक उद्धार तथा आपत्कालीन प्रतिकार्यको नमुना प्रदर्शन गरिएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी  र नेपाल रेडक्रस साेसाइटीले संयुक्त रूपमा उद्धार अभ्यास गरेका थिए ।

डुंगेश्वर गाउँपालिका अध्यक्ष सुन्दर केसी, वडा न‌ं. १ वडाध्यक्ष श्याम राना, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी श्रवणकुमार बिश्वकर्मा, सशस्त्र प्रहरी नायब उपरीक्षक मात्रिका पौडेल, नेपाली सेनाकाे कालिदत्त गुल्मका सहायक सेनानी रवि लिम्बु लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख, प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

स्थानीय तहसम्म विपद् सचेतना फैलाउने, सुरक्षा निकायबीच सहकार्य मजबुत बनाउने तथा विपद् व्यवस्थापनमा तयारी अवस्था परीक्षण गर्ने उद्देश्यले संयुक्त अभ्यास गरिएको हो । कार्यक्रममा विपद्का बेला अपनाउनुपर्ने सावधानी, उद्धार प्रक्रिया र तत्काल प्रतिकार्यका विषयमा समेत जानकारी गराइएको थियो ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार