
दैलेख – जेन्जी आन्दोलनले सत्ता उलटपुलटपछि अन्तरिम सरकार गठन लगतै आज शुक्रबार परेको १० औं संविधान दिवस दैलेखमा सरोकारवालाको ध्यान खिच्यो । राजनीतिक दलहरुवीचमै फरक मत, सरकारी अधिकारीहरु र नागरिक समाजका प्रतिनिधिहरुको भिन्न व्याख्या सुन्न अरु बेला भन्दा बढी चासो देखियो ।
‘सडकमा देखिने जुलुसले मात्र होइन सामाजिक सञ्जालमा उठेका विषयलाई पनि गम्भीरतापूर्वक ध्यान दिनुपर्छ भन्ने कुरा जेन्जी आन्दोलनले प्रष्ट्यायो । सुशासन र पारदर्शिताको निम्ति सबै क्षेत्र जिम्मेवार बन्नुपर्छ, प्रभाव बुझ्न नसके जटिलता उत्पन्न हुनसक्छ’ दैलेखका प्रजिअ बद्रीनाथ गैह्रेले भन्नुभयो ।
नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मायाराम अधिकारीले सत्ता साझेदार काँग्रेस र एमालेकै अक्रमण्यताले जेन्जी आन्दोलनले सत्ता उलटपुलटपछि अन्तररिम सरकार गठनसम्मको स्थिति आएको टिप्पणी गर्नुभयो । दलहरु नसचिए अझैं यस्ता घटनाहरु दोहोरिने खतरा रहेको औंल्याउनुभयो ।
प्रतिनिधिसभाका पूर्वसाँसद रबिन्द्रराज शर्माले दलहरुका कमीकमजोरी पनि सच्याउन जरुरी छ तर जननिर्वाचित संस्था गैरसंवैधानिक तरिकाबाट विघटन गर्ने र संविधानले नचिनेको अन्तरिम सरकार बनेकोमा नेकपा एमालेको आपत्ति रहेको बताउनुभयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले राष्ट्रपति रामचन्द्र पौडेलको बुद्धिमत्तापूर्ण निर्णयबाट संविधानको रक्षा भएको आफ्नो धारणा सुनाउनुभयो । राजनीतिक नेतृत्व, कर्मचारी संयन्त्र र राज्यका सबै निकायहरु सुदृढ ढंगबाट चल्न उहाँले सुझाव दिनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले सामाजिक सञ्जाललाई विधिवत दर्ता गराउन, मर्यादित बनाउन सरकारले गरेको प्रयासलाई गलतढंगले व्याख्या गरी सरकार विरुद्ध योजनावद्ध रुपमा हमला भएकोले यसको न्यायोचित छानबिन हुनुपर्ने माग राख्नुभयो ।
नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपाल रिजालले अहिलेको संविधान र लोकतान्त्रिक गणतन्त्र, यसभित्र समावेशी राज्य व्यवस्था माओवादीको १० वर्षे जनयुद्धको उपलब्धी भएकोले यसका रक्षा गर्न आफ्नो पार्टी दृढ संकल्पित रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै महाबु गाउँपालिकाका उपाध्यक्ष मञ्जू पाण्डेले जेन्जी आन्दोलनमा नेताका श्रीमति भएको कारण जलाइएको, परिवारजनले कमाएको सम्पति नष्ट गरिएका जस्ता गम्भीर ठूला त्रुटी भएको औल्याउदै सबै राजनीतिज्ञ र सबै कर्मचारीलाई एकै ढंगले मूल्यांकन गर्न नहुने टिप्पणी गर्नुभयो ।
जिससस दैलेखका प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका मेयर लोमन शर्मा, जिसस उपप्रमुख केशवबहादुशाही, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशविक्रम शाह, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार लगायतले संविधान दिवसको महत्व बारेमा बोल्नुभएको थियो ।
संसदका दुई प्रमुख दलहरुको सत्ता सञ्चालनशैलीको असन्तुष्टीलाई सामाजिक सञ्जाल खुलाउन जेन्जी पुस्ताले गरेको आन्दोलनले सत्ता परिवर्तनसम्म असामान्य घटनाको एक साता नपुग्दै संविधान दिवस परेको बेला बोल्नेहरुका धारणा सुन्न अघिल्ला वर्षका कार्यक्रम भन्दै धेरैले चासो दिएको देखियो ।
केन्द्र सरकारले संविधान दिवस सामान्य रुपमा मनाउन केन्द्रले परिपत्र गरे पनि दैलेखमा स्थानीय प्रशासनको समन्वयकारी भूमिकाले अरु बेला भन्दा अँझ धेरै उत्साहपूर्ण सहभागितामा सन्देशमूलक प्रभातफेरिसंगै बृहत विचार विमर्श सहित संविधान दिवस मनाइयो ।
संविधान प्राप्ती दलहरुकै योगदान भएको कारण सबै दलहरुलाई धारणा राख्न दिने संविधान दिवस पूर्वतयारी बैठकमै जानकारीले नागरिक सहभागिता र त्यहाँ राखिने विचारहरु बारे दर्शक श्रोताहरुको चासो बढेको जिल्ला समन्वय अधिकारी टेकबहादुर ओलीले सुनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्