२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

राष्ट्रियसभाबाट निजामती सेवा विधेयक पारित



काठमाण्डौं – राष्ट्रियसभाले सङ्घीय निजामती सेवा विधेयक २०८० पारित गरेको छ । राष्ट्रियसभाको मंगलबारको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सङ्घीय निजामती विधेयक २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तूत गर्नुभएको थियो ।

बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री न्यौपानेले सङ्घीयतालाई पूर्णरूपमा कार्यान्वयन गर्न सङ्घीय निजामती सेवा ऐन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रशासनिक सङ्घीयता बलियो नगरी सङ्घीयतालाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै यो ऐन लागू भएपछि कर्मचारी प्रशासन व्यवस्थित र प्रभावकारी हुने बताउनुभयो ।

कर्मचारी व्यवस्थापनमा देखिएको समस्याले सङ्घीयतालाई व्यवहारमा उतार्न अवरोध गरेको भन्दै मन्त्री न्यौपानेले ऐनले ती समस्याहरूको समाधान गर्ने उल्लेख गर्नुभयो । सङ्घीयताको मर्म अनुसार कर्मचारी व्यवस्थापन गर्दै सुशासनमुखी संयन्त्र विकास गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिनिधिसभाले पठाएको ६० दिनभित्र सन्देशसहित फिर्ता पठाउने अन्तिम दिन मंगलबार विधेयक पारित भएको हो । प्रतिनिधिसभाबाट विधेयक पारित गर्ने बेला ’कुलिङ अफ पिरियड’ मा भएको त्रुटि राष्ट्रियसभाले सच्याएको छ ।

प्रकाशित मिति : २०८२ भदौ १८ गते बुधबार