
काठमाण्डौं – आज साउन २६ गते अर्थात इतिहासकार नयराज पन्त जन्मदिन । विसं १९७० साउन २६ गते उहाँको जन्म काठमाण्डौको महाबौद्धमा भएको थियो । नयराज नेपालको इतिहास, ज्यौतिष एवं गणितशास्त्रका विद्वान् हुनुहुन्थ्यो । संस्कृत भाषा, व्याकरण र नेपाली कविताको क्षेत्रमा पनि उहाँको राम्रैसँग कलम चलेको देखिन्छ ।
नयराजका अध्ययन, अनुसन्धानका विशेष क्षेत्र इतिहास र ज्यौतिष दुवै रहे । इतिहासका कुरालाई ज्यौतिषीय तिथिमितिका माध्यमले प्रमाणित गरी देखाउनु उहाँको विशेषता देखिन्छ । तथ्यका आधारमा सत्य भएको प्रमाणित गरेर नै उहाँले ती ती क्षेत्रका ज्ञान उत्पादन गर्नुहुन्थ्यो र बाहिर ल्याउनुहुन्थ्यो ।
बाहिर ल्याएर पनि कतै त्यसमा उहाँलाई पुनः शङ्का लागेमा र गलत भएको अनुभूति भएमा आत्मसंशोधनका माध्यमले पुनः परिमार्जन गर्नुहुन्थ्यो । त्यसैले नै उहाँका जुनसुकै अनुसन्धानका विषयहरू तथ्यका आधारमा प्रमाणित सत्य भएका हुन् । आधिकारिक भएका हुन् । योगी नरहरिनाथ आदि केही इतिहासकारहरूबाहेक धेरैले इतिहाससम्बन्धी गरिएका अनुसन्धान विवादास्पद देखिन्छन् ।
ती विवादास्पद देखिनुको प्रमुख कारण भनेको ती विषय गहिरो अध्ययन, अनुसन्धानबिना नै बाहिर ल्याउनु हो । कतिपय विषय त कुनै विदेशीहरूका विवादास्पद अनुसन्धानका आधारमा लेखिएका छन् तर नयराज पन्तले त्यसो कहिले गर्नुभएन । इतिहासकार पन्तको निधन २०५९ कात्तिक १८ गते भएको थियो ।
प्रतिक्रिया दिनुहोस्