२०८२ असार १२ , बिहीबार (2025 Jun 26, Thursday)

घट्दो बजेटमा ओसीएमसीको बढ्दो सेवा



दैलेख – लैगिंक हिंसा पीडितहरुलाई स्वास्थ्य उपचार, आपतकालिन आवास, कानूनी सहायता, राहत सहयोग र पुनस्र्थापना समेतका काम गरिरहेकाे ओसीएमसीले घट्दै गरेकाे बजेटमा मीतव्ययी तरिकाले अझ बढी काम भइरहेको छ । सुरुसुरुमा ३० लाख आउथ्यो, अहिले एक तिहाईमा झर्‍यो तर झनै बढी सेवाग्राहीलाई सेवा पुर्‍याइएको छ ।

‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)’ले बजेट घट्दै आएको बेला पहिले भन्दा धेरै लैंगिक हिंसा पीडित सेवाग्राहीलाई दिइरहेको सेवाको विषयमा सेवा गुणस्तर सम्बन्धी समीक्षा बैठकमा सरोकारवालाहरुले स्रहाना गर्दै यही समन्वयले सेवा प्रभावकारी भएकाे सराेकारवालाहरूले बताएका हुन् ।

दैलेख अस्पतालमा लैंगिक हिंसा पीडितहरुलाई दिंदै आएको सेवा गुणस्तर बृद्धि भएको, जनशक्ति सहितको संरचना, सोसेकको आपतकालिन आवास गृह, सीएमसीले गरेको मनोपरामर्श सेवा र प्रहरीबाट न्यायिक प्रक्रियामा थालनी गर्ने काम अत्यन्तै प्रभावकारी भएको बैठकमा प्रशंसा भएको छ ।

उजुरी परेका घटनामा प्रहरीको अनुसन्धानपछि हिंसा पीडितहरुलाई न्याय दिलाउन जिल्ला सरकारी वकील कार्यालयले अभियोजन गर्ने काम र अदालतबाट न्याय निरुपणको कामले पीडितहरुमा आशा जगाउदै आएकोले ओसीएमसीमा सेवाग्राहीहरु बढेको त्यहाँ चर्चा भएको थियो ।

प्रहरीको विधि विज्ञान प्रयोगशालाले गर्ने बिस्तृत स्वास्थ्य परीक्षण प्रतिवेदन दुई वर्ष भन्दा बढी समय लगाइदिने गरेको कारण अदालत पुगेको एक सय २० दिनमा फैसला सुनाउन पर्ने बलात्कार लगायतका घटनाहरुमा तोकिएको समयमा फैसला हुन नसकेका समस्या पनि प्रमुखताका साथ उठेको थियो ।

‘एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी)’का अध्यक्ष प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले ग्रामीण क्षेत्रमा यसको प्रचारप्रसार पुग्नुपर्ने बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. मनोज बिश्वकर्मा, ओसीएमसी फोकल पर्सन प्रतिमा गौलीले ओसीएमसीका प्रयासहरु बारे प्रकाश पार्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार