
दैलेख – दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले समाजमा सकारात्मक सन्देश फैलाउने काममा सघाउन आग्रह गर्नुभएको छ । २३ औं कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसको अवसरमा प्रेस सेण्टरले दैलेखमा आज आयोजना गरेको ‘द्वन्द्व र पत्रकारिता’ विषयक अन्तरसम्वाद कार्यक्रममा समाचारका आधारमा समाजको धारणा बन्ने भएकोले सम्वेदनशील हुन उहाँले आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी गैह्रेले विकृति, बिसंति र बेथिति भएका घटनामा तथ्य खोजबिन गरी पत्रकारले सार्वजनिक गर्नुपर्छ त्यसमा हामी पनि सघाउछौं तर पूर्वाग्रह वा बदनियत राखेर कपोकल्पित समाचार प्रकाशन गरिंदा समाज र स्वयम् पत्रकारलाई हित नहुने बतानुभयो । अनियमितता भएको घटनामा तथ्यपरक समाचार आउँदा समाजमा सचेतता बढाउने उहाँले प्रष्ट्याउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस दैलेखका सभापति मणिराम रेग्मीले कृष्णसेन ‘इच्छुक’ पत्रकार मात्र नभई साहित्यकार समेत भएकोले समाजमा भएका विसंति र विकृति विषयमा खरो टिप्पणी गरेको कारण त्यतिबेलाको राज्यसत्ताले पटक पटक थुनामा राख्ने, यातना दिने गरेको र यातनाकै क्रममा ज्यान उत्सर्ग गर्नुभएकै कारण परिवर्तनका पक्षधरहरुले सम्झी रहने नाम बनेको बताउनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले पत्रकारहरुले परिवर्तनको पक्षमा गरेको पैरबीले नेपालमा गणतन्त्र स्थापना गर्न सघाउन पुगेको बताउनुभयो । त्यस अवसरमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेकबहादुर खाणले लोकतान्त्रिक आन्दोलन, जनयुद्ध र थुप्र्रै राजनीतिक आन्दोलनको बलमा प्राप्त लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा मिडियाले पृष्ठपोषण दिन आग्रह गर्नुभयो ।
प्रेस सेण्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनार, पूर्व केन्द्रीय सदस्य नविन रिजाल, पूर्व जिल्ला उपाध्यक्ष कृष्ण देवकोटा, दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बराल, फोटो पत्रकार महासंघका केन्द्रीय सचिव विशाल सुनार, बार एशोसिसनका जिल्ला अध्यक्ष ललित थापा, प्रेस युनियनका जिल्ला सभापति अभिसेक सोनी, महिला सशक्तिकरण मञ्चका अध्यक्ष सविना बिकले द्वन्द्व र पत्रकारिता विषयमा बोल्नुभएको थियो ।
जनादेश पत्रिकाका तत्कालिन सम्पादक कृष्णसेन ‘इच्छुक’ विक्रम सम्वत २०१३ कात्तिक ३ गते प्यूठानमा जन्मनु भएको र सशस्त्र माओवादीलाई सघाएको आरोपमा एक सातादेखि प्रहरी नियन्त्रणमा राखेको बेला २०५८ जेठ १३ गते यातनाको कारण ४६ वर्षकाे उमेरमा उहाँकाे गएको थियो ।
शोकाञ्जली, इतिहासको घडीमा, बन्दी र चन्द्रागिरी लगायतका उहाँका कविता संग्रह प्रकाशित भएका छन् । उहाँलाई पञ्चायत कालमा बहुदल र सशस्त्र युद्धताकाको संकटकाटमा माओवादी जनयुद्धलाई सघाएको भन्दै राज्यपक्षले पटक पटक गरी १० वर्ष प्रहरी हिरासत र कारागारमा थुनेको थियो ।
प्रतिक्रिया दिनुहोस्