२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

मर्यादित परीक्षाले गुणस्तर मापन हुन्छ : शाही



दैलेख – जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले परीक्षालाई विद्यालयको पठनपाठन उचित तरिकाले चलाउने र परीक्षालाई मर्यादित बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ । दैलेख सदरमुकाममा आज भएकाे एसईई परीक्षाका केन्द्राध्यक्षहरुको अभिमुखीकरण कार्यशालामा उहाँले मर्यादित परीक्षाले गुणस्तर मापनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

एसईई परीक्षा समन्वय समितिका संयोजक दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले परीक्षामा लापरवाही गर्ने र नियतवस गलत गर्ने जो कसैलाई कडा कारवाही गर्ने चेतावनी दिनुभयो । त्यसबखत दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहालले परीक्षा सुरक्षा निम्ति प्रभावकारी पूर्वयोजना बनाइएको र कठिनाई पर्दा छिटोछरितो सूचना दिन आग्रह गर्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेखका कार्यालय प्रमुख रमेश मल्ल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, शिक्षक महासंघका उपाध्यक्ष मणिराम पोखरेलले एसईई परीक्षालाई सुव्यवस्थित बनाउन विद्यालय व्यवस्था समिति, अभिभावक, विद्यार्थी र समुदायको सहकार्य विषयमा बोल्नुभएको थियो ।

यो वर्ष दैलेखका २७ वटा परीक्षा केन्द्रबाट नियमित तर्फ ४ हजार ५ सय ४ र ग्रेडबृद्धिका १ हजार ४यस ९६ समेत ६ हजार १ सय ९६ जना विद्यार्थी एसईई परीक्षामा सामेल हुने शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी रतन बिष्टले जानकारी दिनुभयो । उहाँले १ सय १२ सरकारी सामुदायिक विद्यालय, ३ वटा संस्थागत अर्थात बोर्डिङ्ग र एउटा धार्मिक विद्यालय रहेको बताउनुभयो ।

चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने एसईई परीक्षामा विहान ८ देखि ११ बजेसम्म ३ घण्टा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको एसईई परीक्षा तालिकामा जनाइएको छ । १ सय पूर्णांकका विषयहरु ३ घण्टा सञ्चालन हुने र ५० पूर्णांकका विषयहरु भने २ घण्टा चल्ने बाेर्डले परीक्षा सञ्चालन गर्न परिपत्र गरिएकाे बताइएकाे छ ।

 

प्रकाशित मिति : २०८१ चैत ४ गते सोमबार