
सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह फागुन २३ गते विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा हुनेभएको छ । तीन वर्ष अवधिमा स्नातक र स्नातकोत्तर समेत गरी तीन हजार आठ सय ४१ जना विद्यार्थीहरु दीक्षित उत्तीर्ण गरेका मध्ये ८८५ जना विद्यार्थीहरुले दीक्षान्त कार्यक्रममा सहभागी हुन आवेदन भरेका छन् ।
मंगलबार पत्रकार सम्मेलनमा गर्दै विश्वविद्यालयले विभिन्न ग्य्राजुएट स्कूलहरु अन्तर्गत विभिन्न तहको शैक्षिक उपाधि हासिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्न लागिएको प्रचारप्रसार उपसमितिका संयोजक सहप्राध्यापक डा. लीलाधर तिवारीले जानकारी दिनुभयो ।
दीक्षान्त समारोह प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओली, सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्राडा महेन्द्र पी. लामा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति विद्या भट्टराई समेतको उपस्थिति रहने बताइएको छ ।
तीन वर्षको व्याचहरुबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनाले कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनाले उपकुलपति पदक, सबै ग्य्राजुएट स्कुलहरुबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना विद्यार्थीहरु गरी जम्मा ३५ जनाले प्रमाणपत्र सहित पदक दिइने छ ।
आंगिक र केन्द्रीयसहित १६ वटा क्याम्पसबाट अध्ययन अध्यापन गराउँदै आएको विश्वविद्यालयमा करिब १३ हजार विद्यार्थी अध्ययनरत छन् । इन्जिनियरिङ, कानुन, विज्ञान, कृषि विज्ञान, व्यवस्थापनजस्ता विषयमा विद्यार्थी संख्या सन्तोषजनक भए पनि आन्तरिक आम्दानी निकै कमजोर छ ।
प्रतिक्रिया दिनुहोस्