२०८३ जेठ २३ , शनिबार (2026 Jun 7, Sunday)

जिल्ला स्तरीय विज्ञान प्रदर्शनी र चित्रकला प्रतियोगिता



दैलेख – दैलेखका स्थानीय तहबाट छनाै‌ट भएका उत्कृष्ट विद्यार्थीहरूले आफ्नो वैज्ञानिक सोच, सिर्जनशीलता र अनुसन्धान क्षमता प्रस्तुत गर्दै जिल्ला स्तरीय विज्ञान प्रदर्शनी तथा चित्रकला प्रतियोगितामा सहभागिता जनाएका छन् । सामाजिक विकास कार्यालय दैलेखको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाभरका पालिकास्तरीय प्रतियोगितामा प्रथम भएका विद्यार्थी सहभागी भएका हुन् ।

प्रतियोगितामा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसँग सम्बन्धित विभिन्न प्रयोग, नमुना र अनुसन्धानमूलक परियोजना प्रस्तुत गरेका थिए । विद्यालय तहबाटै विद्यार्थीमा वैज्ञानिक सोच, व्यवहारिक ज्ञान र समस्या समाधानको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सामाजिक विकास कार्यालय दैलेखले जनाएको छ ।  जलवायु परिवर्तनको असर बारे भएको चित्रकला प्रतियोगिता केन्द्रित थियाे‍ ।

प्रतियोगिताअन्तर्गत चित्रकला विधामा अंकिता शर्मा प्रथम, संकर सुनार द्वितीय, बिन्दु बादी तृतीय तथा सरस्वती थापा सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी विज्ञान प्रदर्शनीतर्फ मधुसोधन भट्टराई र नारायण आचार्यको समूह प्रथम भएको छ । आज्ञा थापा र आयोही सिंहको समूह द्वितीय तथा पुष्पा रावत र लक्ष्मी रावलको समूह तृतीय बनेका छन् । रोशन बस्नेत र दीप शर्माको समूहले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशवबहादुर शाहीले विज्ञान र प्रविधिको युगमा विद्यार्थीलाई अनुसन्धान र नवप्रवर्तनतर्फ प्रेरित गर्न यस्ता प्रतियोगिता प्रभावकारी हुने बताउनुभयो । उहाँले विद्यालयमा सिकाइने सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सामाजिक विकास कार्यालय दैलेखका कार्यालय प्रमुख लाेकेन्द्र बिष्टले जिल्लाका विभिन्न पालिकाबाट उत्कृष्ट भएर आएका विद्यार्थीहरूको सहभागिताले दैलेखमा विज्ञान शिक्षाप्रति चासो बढ्दै गएको संकेत गरेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने जोड दिनुभयो ।

 

 

प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार