२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

लैंगिक हिंसा रोकथाम गर्न सुरक्षा जालो



दैलेख – समुदायमा भइरहेका लैंगिक हिंसा रोकथाम गर्ने र गम्भीर प्रकृतिका घटनाहरुमा कानूनी उपचारमा पहल कदमी गर्ने लगायतका सामुदायिक काम गर्ने उद्देश्यले नारायण नगरपालिका क्षेत्रका २५ जना अगुवा महिलाहरु ‘नगर स्तरीय सामुदायिक सुरक्षा जालो’ नामको सञ्जाल गठन गरेका छन् ।

यूएनओमन/टेवासंगको साझेदारीमा महिला सशक्तिकरण मञ्च दैलेखले सञ्चालन गरेको ‘सामुदायिक सुरक्षा जालाे तथा महिलावादी आन्दाेलन सुदृढीकरण कार्यक्रम’ अन्तरगत लैंगिकता सवालमा पैरबी गर्न अधिकारकर्मी रिना पोखरेलको संयोजकत्वमा उक्त सञ्जाल निर्माण गरिएको हो । ‘नगर स्तरीय सामुदायिक सुरक्षा जालो’ सञ्जाल गठनसंगै महिलावादी नेतृत्व विकास विषयमा शनिबार र आइतबार २ दिने तालिम समेत दिइएको छ ।

सुरक्षा जालोमा सम्वद्ध महिलाहरुलाई लैंगिक सवाल, महिला माथि हुने विभेद तथा असमानता, अधिकार प्राप्तीका लागि नेतृत्व विकासको आवश्यकता विषयमा तालिम दिइएको महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सबिना बिकले बताउनुभयो । तालिमको सहजीकरण सहजकर्ता मीरा स्वर्णकार र महिला सशक्तिकरण मञ्च दैलेखका कार्यकारी निर्देशक लक्ष्मी जीसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ फागुन १८ गते आइतबार