रोल्पा – रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जना सबैको पहिचान खुलेको छ । घटनास्थलमा पुगेको र बोलेरोको सुरु गन्तव्यस्थलमा प्रहरी टोलीले सूचना पुनर्पुष्टी समेत गरी मृतकहरू २० जनाको पहिचान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी बीरेन्द्रवीर बिश्वकर्माले बताउनुभयो ।
मृत्यु हुनेहरूमा रुकुम पूर्व र दाङ जिल्लाका बासिन्दाहरू रहेका छन् । प्रहरीका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकीको दुर्घटनामा निधन भएको छ ।
उक्त दुर्घटनामा दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुरका ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षीय संयोग जिसी र यमबहादुर जिसीको पनि मृत्यु भएको छ । यस्तै, घोराही–१३ की धनमाया बिष्टको पनि मृत्यू भएको डीएसपी बीरेन्द्रवीर बिश्वकर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा रुकुम पूर्वको सिस्ने–५ का ६० वर्षीया मीना कमिनी, ६० वर्षीया लक्ष्मी शाह, २७ वर्षीया रुपमिना बस्नेत र भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत रहेका छन् । त्यस्तै, दाङको शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने गाउँपालिका–५ मा बस्दै आएका ४२ वर्षीय सवारी चालक बेदु कामीको पनि दुर्घटनामा निधन भएको प्रहरीले दिएको विवरणमा उल्लेख छ ।
बोलेरोमा सवार सबै यात्रुहरू रुकुम पूर्वबाटै यात्रा सुरु गरेका थिए । दुर्घटनाकै बेला सिस्ने गाउँपालिका–५ का समिर कामीले छतबाट हाम फालेर आफ्नो ज्यान जोगाउन सफल हुनुभएको छ । सामान्य घाइते भएका समीर उपचारपछि सकुशल घर फर्किनुभएको छ । क्षमता भन्दा बढी यात्रु बोकेको बोलेरो दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।










प्रतिक्रिया दिनुहोस्