२०८१ माघ २२ , मंगलबार (2025 Feb 4, Tuesday)

काराकारका कैदीबन्दीलाई योग प्रशिक्षण



दैलेख – ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ नाराका साथ १० औं राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल सरकारको २०७२ साउन २८ गतेको बैठकले गरेको निर्णय अनुसार हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाउन गरिएको छ ।

राष्ट्रिय योग दिवसको अवसरमा आयुर्वेद स्वास्थ्य कार्यालयले दैलेख कारागारका कैदीबन्दीहरुका लागि एक साता लामो योग प्रशिक्षण थालेको छ । जिल्ला स्तरीय योग समितिका अध्यक्ष दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले आहारविहार र आत्मशान्तिका लागि योग सारथी हुने बताउनुभयो ।

आयुर्वेद स्वास्थ्य कार्यालय दैलेखका कार्यालय प्रमुख डा. यादव उपाध्यायले पहिलो दिन आफै र पछिल्ला दिनहरुमा योग प्रशिक्षक पठाएर दैलेख कारागारमा मंगलबारदेखि सातासम्म विहान इच्छुक कैदीबन्दीहरुलाई डेढ घण्टा योगका अभ्यास गराउन थालिएको जानकारी दिनुभयो ।

यसैगरी राष्ट्रिय योग दिवसको अवसरमा नारायण नगरपालिका–३ को खुर्सानीबारीस्थित बेलासपुर आयुर्वेद कार्यालय जनप्रतिनिधि, स्थानीय वासिन्दाहरु समेत सहभागितामा योग अभ्यासले स्वास्थ्यमा पैदा गर्ने ऊर्जा र आयुर्वेदिक उपचारको दिर्घकालिन फाइदा बारे कार्यालय प्रमुख राजीव भारतीले प्रकाश पार्नुभयो ।

नेपालमा यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको अभ्यास थालिएको मानिन्छ । २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो ।

योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ । जुनसुकै विषयमा स्नातक गरेकालाई दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रम अनुसार योग र प्राकृतिक चिकित्सा अध्यापन गराउन थलिएको छ ।

 

प्रकाशित मिति : २०८१ माघ २ गते बुधबार