२०८३ साउन २१ , बिहीबार (2026 Aug 7, Friday)

सडक अनुशासनका लागि लापासे-मापासे चेकजाँच



दैलेख – जिल्ला ट्राफिक कार्यालय दैलेखले जिल्ला प्रहरी कार्यालय दैलेख र राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय सुर्खेतसँगको समन्वयमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गराउने उद्देश्यले समय–समयमा विभिन्न स्थानमा लापासे तथा मापासे चेकजाँच अभियान सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी श्रवणकुमार बिक, नारायण नगरपालिका–१ का वडाध्यक्ष सन्देश श्रेष्ठ र नेपाल पत्रकार महासंघ दैलेखका पूर्वअध्यक्ष अमर सुनारको रोहवरमा बिहीबार दैलेख सदरमुकाममा सुर्खेत–दैलेख सडकखण्डमा सार्वजनिक तथा निजी सवारी साधनको चेकजाँच गरिएको हो ।

चेकजाँचका क्रममा चालकले मादक पदार्थ सेवन गरे–नगरेको, लागूऔषध प्रयोग गरे–नगरेको, सवारी चालक अनुमति पत्र तथा सवारी साधनको नवीकरण अवस्था, सवारी साधनहरुकाे अवस्था, यात्रुसंग मर्यादित व्यवहार गरे–नगरेकाे  लगायतका विषयमा परीक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय दैलेखले जनाएको छ ।

एक महिनादेखि सुर्खेत–दैलेख सडक, मध्यपहाडी राजमार्ग र कर्णाली राजमार्गमा आकस्मिक रूपमा लापासे तथा मापासे चेकजाँच गर्दै आएको जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज वरिष्ठ सई जयसिंह गुरुले बताउनुभयो । अभियानले चालकमा सचेतना बढेको र यात्रुमा सुरक्षित यात्राप्रति विश्वास बढेको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार