२०८३ असार १९ , शुक्रबार (2026 Jul 3, Friday)

प्रहरी सेवा बारे दुल्लूमा नागरिक सुनुवाइ



दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले प्रहरी सेवाप्रति नागरिकको विश्वास प्रभावकारी बनाउन दुल्लूमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । दुल्लू नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सरोकारवालाले प्रहरीको सेवा, शान्ति सुरक्षा र अपराध नियन्त्रणसँग सम्बन्धित जिज्ञासा, प्रश्न तथा सुझाव खुलेर राखेका थिए ।

कार्यक्रममा दुल्लू नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजालले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी र नगरपालिकाबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । शान्ति सुरक्षा र नागरिक हितका विषयमा सञ्चालन हुने कार्यक्रम तथा अभियानमा नगरपालिकाको आवश्यक सहयोग र समन्वय रहने उहाँले वचन दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी श्रवणकुमार बिकले सीमित साधनस्रोत, जनशक्ति र भौगोलिक चुनौतीका बाबजुद पनि नेपाल प्रहरीले नागरिकको जिउधनको सुरक्षा, शान्ति सुव्यवस्था कायम राख्न तथा कानुनको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर जिम्मेवारीपूर्वक काम गरिरहेको बताउनुभयो ।

उहाँले स्थानीय तह, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आम नागरिकको सक्रिय सहयोग, समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो । समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै नागरिकबाट प्राप्त सूचना, सुझाव र सहकार्यका आधारमा शान्ति सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाइने डीएसपी बिकले स्पष्ट पार्नुभयो ।

नागरिक सुनुवाइमा विजया मावि दुल्लूका प्रधानाध्यापक केशव भण्डारीले विद्यार्थीमा बढ्दो कुलत तथा साइबर अपराधबारे सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । भानेश्वर मावि नाउलेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र थापाले समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउँदै ग्रामीण क्षेत्रमा सुरक्षा सेवाको पहुँच विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

दुल्लू नगरपालिका–१० का वडाध्यक्ष सुशील भण्डारीले स्थानीय तह र प्रहरीबीच समन्वयलाई थप मजबुत बनाउन समुदायस्तरमा हुने विवाद समाधान र अपराध नियन्त्रणमा संयुक्त पहल आवश्यक रहेको बताउनुभयो । पूर्व प्रहरी लोकनाथ योगीले समाजमा बढ्दै गएका सामाजिक विकृति, लागू औषध तथा युवा लक्षित अपराध नियन्त्रणमा प्रहरी र समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने सुझाव दिनुभयो ।

विद्यार्थीको तर्फबाट विजया माध्यमिक विद्यालय दुल्लूको बाल क्लबका अध्यक्ष प्रकाश कार्कीले युवामाझ बढ्दो लागू औषध दुर्व्यसन रोकथामका लागि विद्यालय केन्द्रित सचेतना कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो । क्लबकी उपाध्यक्ष शुभकामना महतले बालिकामाथि हुने हिंसा, दुर्व्यवहार र असुरक्षा न्यूनीकरणमा प्रहरीले विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

अर्की विद्यार्थी अञ्जली थापाले समाजमा अझै विद्यमान छाउपडी प्रथा, बालविवाह तथा अन्य सामाजिक कुरीतिका कारण महिला र बालबालिकाको अधिकार हनन हुने गरेको उल्लेख गर्दै यस्ता कुप्रथाको अन्त्यका लागि प्रहरीले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो । विद्यालय, समुदाय तथा सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक अभियान चलाउन उहाँकाे सुझाव थियाे ।

कार्यक्रममा सहभागीहरूले प्रहरी सेवालाई नागरिकमैत्री, पारदर्शी र उत्तरदायी बनाउन यस्ता नागरिक सुनुवाइ कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । जिल्ला प्रहरी कार्यालय दैलेखले प्राप्त सुझावलाई आगामी सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा समेट्दै नागरिकसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार