दैलेख – सामाजिक विकृति न्यूनीकरण तथा समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले महाबु गाउँपालिका–१ वडा कार्यालयले खरिगैरामा बृहत् सामाजिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा जातीय विभेद अन्त्य, बालअधिकार प्रवर्द्धन, लैंगिक हिंसा न्यूनीकरण, आत्महत्या रोकथाम तथा लागूऔषध दुर्व्यसन नियन्त्रणलगायत विषयमा अभिमुखीकरण गरिएको हो ।
अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवसको अवसर पारेर आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो । सहभागीहरूलाई सामाजिक विकृतिका कारण, त्यसले पार्ने असर तथा न्यूनीकरणका उपायबारे जानकारी गराइएको थियो ।
पत्रकार अमर सुनारले जातीय विभेद सामाजिक सद्भाव र विकासको प्रमुख अवरोधका रूपमा रहेको बताउनुभयो । संविधानले सबै नागरिकलाई समान अधिकारको सुनिश्चितता गरे पनि व्यवहारमा अझै विभेदका घटना भइरहेकाले त्यसको अन्त्यका लागि समुदायस्तरबाटै सचेतना र व्यवहार परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो । उहाँले बालअधिकार संरक्षण, सामाजिक समानता र मानवीय सम्मान कायम गर्न सबैको साझा दायित्व रहेको उल्लेख गर्नुभयो ।
गैडाबाज प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक टोपबहादुर बिकले लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा, घरेलु हिंसा तथा आत्महत्याजस्ता घटनाले समाजमा गम्भीर चुनौती थपिरहेको बताउनुभयो । उहाँले लागूऔषध सेवन, कारोबार तथा ओसारपसार कानुनले दण्डनीय अपराधका रूपमा व्यवस्था गरेको जानकारी दिँदै यस्ता गतिविधिविरुद्ध प्रहरीसँग सहकार्य गर्न समुदायलाई आग्रह गर्नुभयो ।
त्यसबखत गैडाबाज प्रहरी चौकीका बरिष्ठ हवल्दार मदनबहादुर बिकले मानसिक तनाव वा हिंसाका घटना लुकाएर राख्दा आत्महत्याकाे घटना बढ्दै गइरहेकाे उल्लेख गर्दै घरपरिवार र समुदायले समाजका कमजाेर नागरिक र पींडा लुकाई बसेकाहरुलाई माया र सहानुभूती दिन सके धेरै हदसम्म आत्महत्या दर न्यूनीकरण हुने बताउनुभयो ।
जयन्ती माध्यमिक विद्यालय खरिगैराका शिक्षक नमराज खत्रीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विद्यालय, परिवार र समुदायबीचको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो । किशोरावस्थामा उचित मार्गदर्शनको अभावले बालबालिका कुलत, हिंसा र बालविवाहजस्ता समस्यामा फस्ने जोखिम बढ्ने भएकाले नैतिक शिक्षा, सकारात्मक सोच र जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
महाबु गाउँपालिका–१ का वडाध्यक्ष सर्वराज सार्कीले वडा कार्यालयले भौतिक पूर्वाधार विकाससँगै सामाजिक रूपान्तरणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । समाजमा रहेका विभेद, हिंसा, दुर्व्यसन र अन्य विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
वडा सचिव हेमराज थापाले सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्नुभयो । सामाजिक सद्भाव र सुरक्षित समुदाय निर्माणका लागि वडा कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो । यस्ता अभियानमा स्थानीयवासीको सक्रिय सहभागिताले मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरूले सामाजिक विकृतिविरुद्ध सचेत बन्न, बालअधिकारको सम्मान गर्न, जातीय विभेद अन्त्य गर्न तथा लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र आत्महत्याजस्ता समस्याको रोकथाममा समुदायस्तरबाटै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।











प्रतिक्रिया दिनुहोस्