२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

दैलेख–२ मा एमालेका पोखरेल विजयी



दैलेख – दैलेख क्षेत्र नं. २ नेकपा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद पोखरेल फराकिलो मतान्तरमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले १३ हजार ८ सय ८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लोकहरी कँडेलले जानकारी दिनुभयो ।

पोखरेलका निकटम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५ सय ५२ मत पाउनुभएको थियो । २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पोखरेललाई पराजित गरी दिक्पालकुमार शाही झिनो मतान्तरमा जित्नुभएको थियो । पोखरेलले २०७० काे दाेश्राे संविधानसभा सदस्य पदमा जितेर एक कार्यकाल संसदीय अभ्यास गरिसक्नुभएकाे छ ।

कणाली प्रदेशमै सबै भन्दा कम ४८ प्रतिशत मतदाता सहभागिता रहेको दैलेख क्षेत्र नं. २ मा यस पटक कुल खसेको ३९ हजार ८ सय ७३ मत मध्ये ३ हजार ३ सय ९० अर्थात ८ दशमलव ४३ प्रतिशत म तबदर भएको निर्वाचन अधिकृत कँडेलले बताउनुभयो ।

झण्डै १७ घण्टामा गणना सकिएको दैलेख क्षेत्र नं. २ को प्रत्यक्ष तर्फको अन्तिम मत परिणाम अनुसार तेश्रो स्थानमा रास्वपाका बखतबहादुर शाहीले ६ हजार ७ सय ९७, नेकपाका योगेन्द्रबहादुर शाहीले ३ हजार ८ सय ५१, नेमकिपाका बखतबहादुर थापाले १ हजार ५ सय १२ मत पाउनुभएको थियो ।

त्यसैगरी नेकपा माओवादीका कलम सिंहले ३ सय ३७, राप्रपाकी बबिता शाहीले ३ सय ६६, राजमोका बमल बरैमगरले १ सय १, दुई जना स्वतन्त्र उम्मेदवारहरु हिमबहादुर शाहीले ४३, लालबहादुर कडायत ३२ मत र आमजनता पार्टीकी तीर्था बंशीमगरले जम्मा ३३ मत प्राप्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार