२०८३ वैशाख २ , बुधबार (2026 Apr 16, Thursday)

विकासको निम्ति सबैकाे इमान्दारिता जरुरी



दैलेख – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विकास आयोजना गुणस्तरीयताको निम्ति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति दैलेखले आज शुक्रबार आयोजना गरेको ९ औं जिल्ला सभा उद्घाटन कार्यक्रममा सबैको इमान्दारता र नियमाक निकायको प्रभावकारी अनुगमन आवश्यकता उहाँले दर्शाउनुभयो ।

मन्त्री भण्डारीले जिल्ला समन्वय समितिले संविधानतः पाएको अधिकार प्रयोग गरी अनुगमन गर्ने र समन्वयकारी काम जिम्मेवारी अनुसार काम गर्न सुझाव दिनुभयो । उहाँले जिल्ला सभाका सबै सदस्यहरुले अस्थित्व स्वीकार गर्ने आवश्यकता अनुसार जिल्ला समन्वय समितिलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले विकास कार्यक्रम प्रभावकारिता निम्ति तीनै तहका जनप्रतिनिधि, कर्मचारी संयन्त्र, सचेत नागरिकहरु जिम्मेवार र जवाफदेहिता जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अरुको टाउँको दोष थुपारे उम्कन कसैले पाइदैन ।’

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीको अध्यक्षतामा भएको जिल्लासभा उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मी नेकपा एमालेका जिल्ला अध्यक्ष सूर्यबहादुर शाही, दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बरुनाथ योगी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनारले लगायतले बोल्नुभएको थियो ।

जिल्ला सभा उद्घाटन कार्यक्रममा जिल्ला समन्वय अधिकारी टेकबहादुर ओलीले जिल्ला समितिले गरिहेका तीनै तहका सरकारबीच समन्वयकारी काम, उपलब्धी र चुनौतीका विषय प्रकाश पार्नुभएको थियो । उद्घाटन सेसनपछि शुक्रबार नै भएको ९ औं जिल्ला सभाले विभिन्न नीतिगत निर्णय गरेको जिससका सूचना अधिकारी शाखा अधिकृत रामबहादुर बुढाले जानकारी दिनुभयो ।

जिल्ला सभाले दैलेखका भैरबी गाउँपालिका–१ जलजलेमा प्राविधिक मूल्यांकनले पुष्टी गरिसकेको पेट्रोलियम पदार्थ उत्खनन्को काम प्राथमिकतामा राख्न नेपाल सरकारलाई अनुरोध गरी पठाउने, माथिल्लो कर्णाली जलविद्युत आयोजनालाईको काम गति बढाउन, सुर्खेत–दैलेख राजमार्ग स्तरोन्नतीका निम्ति प्रयाप्त बजेट व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार