
दैलेख – १७ वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ का २४ वर्षीय पदमबहादुर बिकलाई दैलेख जिल्ला अदालतले १० वर्ष कैद र पाँच लाख रुपैंयाँ जरिवाना गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट बुधबार उक्त सजाय भएको सूचना अधिकारी नासु गणेशप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
२०८१ वैशाख १३ गते ललाईफकाई गरेको बलात्कारबाट गर्भ रहन गएको जनाउदै पीडित पक्षले २०८१ कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो । उजुरी लगतै अदालतको अनुमती लिई सुरक्षित गर्भ पतन गराई मुद्दाको अनुसन्धान थालिएको थियो ।
प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा ०८१ मंसिर ४ गते जबरजस्ती करण घटनाको अभियोग दर्ता गराएको थियो । त्यही दिन जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेकै इजलासबाट पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाइएको थियो ।
पीडित युवतीले कसूरदारलाई गर्भ रहेको जानकारी गराउदा समेत बेवास्ता गरेपछि ६ महिनाको पेट बोकेर प्रहरीको सहायता मार्फत कानूनी प्रक्रिया थालिएपछि अदालतको अनुमती लिई सुरक्षित गर्भपतन गराइसकेर किशोरीले आफ्नो पढाइ निरन्तरता दिन सम्भव भएको थियो ।
हाडनाता, बलात्कार घटनाबाट रहेको गर्भ, विकलाङ्ग सन्तान जन्मने वा बच्चा जन्माउदा आमाको स्वास्थ्य जोखिममा छ भन्ने चिकित्सकको सिफारिसमा महिलाले चाहेमा गर्भपतन गराउन मिल्छ । बलात्कार घटनामा अदालतको अनुमती लिई ती युवतीको गर्भपतन गराइएको थियो ।
३ महिना माथिको गर्भपतन गराउन नमिल्ने कारण आत्महत्या पो गर्ने पर्ने हो कि ? भन्ने दुविधाको बेला प्रहरीमा उजुरी दर्ता गराए पनि अदालतमा होस्टाइल भएकी थिइन । कसूरदारकै बलात्कारबाट गर्भ रहेको भन्ने डीएनए पुष्टी गरेको आधारमा अदालतले कसूरदारलाई सजाय गरेको हो ।










प्रतिक्रिया दिनुहोस्