
दैलेख – तुइन र काठे पुल बिस्थापन गरी फलामका झोलुङ्गे पुल बनाउने सरकारले नीति बनाएको १० वर्ष भयो तर सरोकारवाला निकायको चासो नदिंदा जीर्ण काठे पुलबाट स्थानीयहरुले ज्यान जोखिममा राखेर यात्रा गरिरहनु परेको छ ।
भगवतीमाई गाउँपालिका वडा नं. ७ को बडाभैरब ७ र वडा नं. ६ को कट्टी जोड्ने ज्योतिङ्गे खोलामा काठे पुलमा यात्रुहरुले जोखिम मोलेर गन्तव्यमा जाँदै गरेको फोटो यतिबेला अनलाइन, छापा र सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
करिब २८ वर्ष अघि २०५४ सालमा निर्माण गरिएको काठे पुलमा बिछ्याइएको फट्टा कुहिएका छन् । न स्वयम् उपभोग गर्नेहरुले काठका फट्टा हालेका छन् न त स्थानीय सरकारले जीर्णाद्धारमा चासो दिएको छ ।
भगवतीमाई गाउँपालिका–७ का वडाध्यक्ष पूर्णहादुर थापाले काठे पुल मर्मत सम्हारका लागि गाउँपालिका र पूर्वाधार विकास कार्यालयलाई अनुरोध गरेको तर ती निकायबाट बेवास्ता भएको टिप्पणी गरेर पन्छिनुभयो ।
यसबारे ध्यानाकर्षण गराउँदा पूर्वाधार विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख रामबहादुर बिकले आफूले यसबारे आमसञ्चार माध्यममा समाचार आएपछि मात्र थाहा पाएको बताउनुभयो ।
दैलखमा १२–१३ वटा काठे पुल, १४५ वटा फलामका झोलुङ्गे पुल छन् । सबैजसो काठे पुल जीर्ण भएका र संघीय संरचनापछि सरकारले पुल हेरालु बजेट हटाएपछि पुलको रेखदेखमा कमी आएको आरडीएससीका झोलुङ्गे पुल क्षेत्र संयोजक नविन शर्माको भनाई छ ।
कर्णाली नदीमा दैलेखको खिड्कीजिउला र अछामको कालेकाँडा जोड्ने झोलुङ्गे पुल २०८१ जेठ २७ गते लठ्ठा चुँडिंदा १४ वटा खच्चड अड्किएकामा १२ उद्धार गरिएको दुई वटा खच्चड मरेका थिए ।
२०७३ सम्म झोलुङ्गे पुल हेरालुलाई मासिक पाँच सय रुपैंयाँ दिने भएकोले रेखदेख पुग्थ्यो । संघीय संरचनापछि पुल रेखदेख गर्ने हेरालु नभएको कारण यस्ता समस्या धेरै ठाउँमा आउन सक्ने आरडीएससीका संयोजक शर्माको व्याख्या छ ।
२०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री पद बहाली हुँदा केपी शर्मा ओलीले तुइन र काठे पुल बिस्थापन गरी फलामका झोलुङ्गे पुल बनाउने घाेषणा गर्नुभएको १० वर्ष भयो । संयोगले यो बेला पनि प्रधानमन्त्री ओली नै भएको बेला तुइन र काठे पुल बिस्थापन भएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्