
दैलेख – मलेसियामा मजदुरी गरेर फर्केका एक युवाको दैलेखमा रहस्यमय हत्या भएको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ लैनचौरका २८ वर्षीय सुरेन्द्रबहादुर शाहीकाे हत्या भएको हुन सक्ने देखिएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेशबहादुर बरालले जानकारी दिनुभयो ।
२०७९ असोज ३० गते मलेसिया पुगी ३३ महिनापछि गएको असार ३२ गते नेपाल फर्किएका सुरेन्द्र पढ्न बसेका भाईबहिनी र आफ्ना छोराछोरीसंग १० दिन सुर्खेतमा बिताएर साउन १० गते मूलघर दैलेखको लैन नपुग्दै बाटोमै हत्या भएको हो ।
४ वर्षको एक छोरा, ६ वर्ष र ८ वर्षकी दुई छोरी छोडेर एक वर्ष अघि श्रीमति डल्ली शाहीले गाउँकै अर्को पुरुषसंग विवाह गरी गएपछि सुरेन्द्रले विवाह गर्ने सहमतिमा मलेसियाबाट झण्डै चार लाख पठाएकी अर्की विवाहिता महिलाले योजनावद्ध तरिकाबाट हत्या गराएको परिवारजनको आशंका छ ।
‘अविवाहित छु’ भनेकी ती महिलासंग विवाह गर्ने सहमतीमै पटकपटक गरी रकम सुरेन्द्रले रकम पठाउने गरेको र असार ३२ गते नेपाल फर्र्किएपछि विवाहको बारे कुरा गर्दा ती महिलाले ‘यतिबेला भरखरै बज्यै बितेकोले भेट्न नसक्ने भनेकी, पछि कुरा लुकाए पनि आफू विवाहिता भएको र छ वर्षको छोरा रहेको’ खुलाएकी बताइएको ।
पहिले अविवाहिता हुँ भनेकी ती महिलाले पछि विवाहिता भएको, साथमा छोरा रहेको र त्यति ठूलो रकम खर्च भइसकेको अवस्थामा विवाह गर्ने वा नगर्ने भनी टेलिफोनबाटै सुरेन्द्रले सल्लाह मागेको विषयमा ‘जे गछौ तिमीहरु निधो गर तर केटी कस्तो हो रामरी बुझ्नू’ भनी आफूले राय दिएको सुरेन्द्रका बुबा बखत शाहीले सुनाउनुभयो ।
मलेसिया पुगेदेखि नियमित खर्च पठाउने गरेकी श्रीमती परपुरुषसंग विवाह गरी गएको घटनापछि सुरेन्द्रले कम्पनी राम्रो नपरेको भनी घरमा रकम पठाउन छोडेका विषयमा थोरतिन बचाई राखेको होला भनेका थियौं, अर्को केटीलाई पठाउने गरेको नेपाल फर्किएपछि मात्र सुरेन्द्रले भनेको बुबा बखत बताउनुभयो ।
पढ्न बसेका १९ वर्षकी बहिनी, १६ वर्षको कान्छो भाई, आफ्नो सानो छोरी र छोरासंग १० दिन सुर्खेतमा बिताएर साउन १० गते विहान १० बजे मूल घर दैलेखको लैनचौरमा बस्ने बुबाआमा, आफ्नो ठूलो छोरी र माइलो भाईलाई भेट्न भनी सुर्खेतबाट हिंडेका सुरेन्द्र सोमबार बिहान दैलेखको दुल्लू नगरपालिका–११ कयलकुनास्थित छामघाट खोलाको किनारमा मृत अवस्थामा फेला परेका थिए ।
घाँटी थिचिएको, टाउको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला शव परेकाे घटनास्थल पुगेका प्रहरी निरीक्षक देबीराम भण्डारीले बताउनुभयो । पानी बगेको खोलाको किनारमा फेला परेको शव अपरिचित भनी अस्पतालमा राखिएको तर पछि परिवारजनले सुरेन्द्रको शव पहिचान गरेका थिए ।
दिउँसो दैलेख बजार पुगिसकेको परिवारजनलाई फोनमा जानकारी दिइसकेका सुरेन्द्र गाउँ जान छोडेर सुर्खेत पर्किने बाटोतिर सदरमुकामदेखि १० किलोमीटर टाढा दुल्लू नगरपालिका–११ कयलकुनास्थित छामघाट खोलाको किनारमा मृत अवस्थामा फेला परेका घटना रहस्यमय बनेको छ ।
मृत शव फेला परेको विषयमा भुकाँहाका स्थानीयले खबर गरेपछि प्रहरीले सोधीखोजी गर्दा सुरेन्द्रको शव पहिचान भएको थियो । सुरेन्द्रको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको छ । सुरेन्द्रसंग विवाह गर्ने सहमतिमा नियमित रकम पठाउन लगाइएकी महिलालाई प्रहरीले सोधपुछ सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्