२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

प्रभाव जाँच्न सामाजिक परीक्षण



दैलेख – परियोजनागत कामको प्रभावकारिता सवालमा सोसेक नेपालले सामाजिक तथा लैङ्गिक परीक्षण गराएको छ । महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा लोपोन्मुख राउटे समुदायका क्षेत्रमा काम गर्दै आएका परियोजना क्रियाकलापको प्रभाव विषयमा सोसेकले गरेको यो १८ औं सामाजिक तथा लैङ्गिक परीक्षण हो ।

राजनीतिक दल, संघसंस्था, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, पत्रकार, सरोकारवालाको उपस्थितिमा लैङ्गिक परीक्षण संयोजक अधिकारकर्मी नविनचन्द्र घिमिरेले गर्नुभएको थियो । समुदायमा रहेका कुरीति, कुसँस्कार, महिला हिंसा, बालविवाह, महिनावारी विभेद लगायतका समस्या न्यूनीकरणमा सोसेक नेपालले प्रभावकारी काम गरेको सामाजिक अध्ययनबाट थाहा पाएको घिमिरेले सुनाउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले सोसेक नेपालको सुशासन पद्धतिको अभ्यास र अनुकरणीय कार्यशैली सरकारी र अरु गैससहरुले समेत अवलम्न गर्नुपर्ने बताउनुभयो । ‘कतिपय संस्थाले कागजमा मात्र काम देखाउँछन् तर सोसेकले वास्तविक परिवर्तन ल्याएको छ’ उहाँले भन्नुभयो ।

गैसस महासंघ दैलेखकी अध्यक्ष डिलकुमारी चन्दले संस्थाले साँचिकै रूपमा समुदायमा पुगेर परिवर्तन ल्याइरहेको बताउनुभयो । ठाँटीकाँधस्थित बिजारे बाल क्लबकी कोषाध्यक्ष अनुजा विष्टले सोसेक नेपाल समाज, विद्यालयमा बालबालिका प्रवद्र्धनमा उल्लेखनीय काम गरेको बताउनुभयो ।

सोसेक नेपालका कार्यकारी निर्देशक हीरा सिंह थापाले कर्णाली प्रदेशका १० जिल्लामा २४० कर्मचारीहरु असमानता, महिला हिंसा, बालविवाह, महिनावारी विभेद विरुद्ध सचेतना र शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका भौतिक विकासका काम गरिरहेको बताउनुभयो ।

२८ वर्ष अघि २०५४ भदौ ११ गते जिल्ला प्रशासन कार्यालय दैलेखमा दर्ता भएको सोसेक नेपाल कर्णाली प्रदेशकै अब्बल गैसस हो । सोसेक नेपालले आर्थिक वर्ष २०८१/०८२ मा १३ वटा साझेदारहरुको सहकार्यमा २१ परियोजनामा करिब ३६ करोड रुपैंयाँ खर्च गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०८२ साउन २ गते शुक्रबार