
दैलेख – अदालतमा चलेका झण्डै आधा जति संख्या सम्बन्ध विच्छेद मुद्दाले ओगटेको पाइएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका १ सय २९ र चालु आर्थिक वर्ष ०८१/८२ अवधिमा दर्ता भएका ४ सय ४ गरी ५ सय ३३ थान मुद्दा चलेकामा २ सय ३६ वटा सम्बन्ध विच्छेदका मुद्दा आएको दैलेख जिल्ला अदालतले तथ्यांक दिएको छ ।
अदालतले आज आयोजना गरेको पत्रकार सम्मेलनमा २ सय ३६ अर्थात ४४ दशमलव २७ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेका अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । यो वर्ष चलेका कुल ५ सय ३३ मध्ये ३ सय ८५ थान अर्थात ७२ दशमलव २३ प्रतिशत मुद्दा फैसला भएका पनि उहाँले बताउनुभयो ।
कुल मुद्दा संख्यामा फैसला भएका ३ सय ८५ पछि १ सय ४८ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् । ती बाँकी मध्ये दर्ता भएको छ महिना भित्रका १ सय १७, एक वर्ष समयभित्र १९, डेढ वर्षभित्रका ८ र डेढ वर्ष नाघेका ४ थान मुद्दा बाँकी छन् ।
अदालतको पत्रकार सम्मेलनमा सहभागीहरू । फाेटाे साैजन्य : जीवन आचार्य
बलात्कार घटना र व्यक्ति हत्याको घटनामा प्रहरीको विधि विज्ञान प्रयोगशालाले दुई वर्ष भन्दा बढी समयदेखि बिस्तृत स्वास्थ्य परीक्षणको प्रतिवेदन नपठाएको कारण अदालतले ढिला फैसला गरेको जस्तो पर्न गएको जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले समस्या दर्शाउनुभयो ।
‘विधि विज्ञान प्रयोगशालालाई यथासिघ्र प्रतिवेदन पठाइदिन लेखी पठाऔं, प्रहरी प्रमुखलाई भन्यौं, प्रमुख जिल्ला अधिकारीलाई भन्यौं तर प्रतिवेदन आएन । बलात्कार जस्ता लैंगिक हिंसा मुद्दामा १ सय २० दिनमा फैसला गर्ने सिघ्र सुनुवाइ प्रणालीले भन्छ तर प्रतिवेदन नआएकै कारण टाइमलाइन कट्छ ‘ न्यायाधीश पाण्डेले देखेसो पोख्नुभयो ।
फाैजदारी मुद्दा चलेका थुनुवा संख्या केलाउँदा अघिल्लो वर्षका २७ र यो वर्षका ५१ समेत ७८ जना थुनुवा मध्ये ५६ जनाको फैसला भएको र २२ जनालाई लागेकाे अभियाेग बारे फैसला हुन बाँकी छ । ती मध्ये ३ जना महिला र १९ जना पुरुष रहेका दैलेख जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले बताउनुभयाे ।
बालबिज्याइँका पुराना १० र नयाँ ११ समेत २१ थान मुद्दामा १८ वटा फैसला भएका र ३ वटा फैसला हुन बाँकी रहेका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले विवरण दिनुभयो । सहभागी पत्रकारहरूले अदालती न्याय सम्पादनकाे काम बढी प्रक्रियामुखी हुने गरेकाे टिप्पणी गरेका थिए ।
कार्यक्रममा सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता द्राेणदत्त पाैडेल, सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्याैपाने, बार एशाेसियसनका जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, नेपाल पत्रकार महासंघ दैलेख जिल्ला अध्यक्ष अमर सुनार समेतकाे उपस्थिति थियाे ।
प्रतिक्रिया दिनुहोस्