
काठमाण्डौं — बिचौलियासँग घूसको संवादपछि विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभएको छ । उहाँले राजीनामा दिएको कुरा प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले मन्त्रीकाे राजीनामा आएकाे पहरेदारलाई बताउनुभयाे ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई बोलाएर २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिनुभएको थियो । मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ‘आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा गरेको छु ।’
‘कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ । म अहिले त्यसैको सिकार भएँ ।’ गुप्ताले टिप्पणी गर्नुभयो । भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्ति गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन मन्त्री गुप्तासँग आग्रह गरेको अडियोमा सुनिन्छ ।
प्रतिक्रिया दिनुहोस्