२०८३ असार १ , सोमबार (2026 Jun 15, Monday)

प्रचण्डद्वारा डेकेन्द्र घटनामा माफीकाे याचना



दैलेख –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शस्त्र युद्धका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट हत्या गरिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको घरमा पुगेर आमा गंगादेबी थापा र परिवारजनसंग माफीकाे याचना गर्नुभएकाे छ । ‘मध्यपहाडी राजमार्ग अभियान’को क्रममा आइतबार दैलेख सदरमुकाममा बास बस्नुभएका प्रचण्डले आज विहान आमासंग भेट्नुसंग डेकेन्द्रको शालिकमा मल्यार्पण गर्नुभयो ।

आमासंगको भेटमा उहाँले भन्नुभयो ‘हामीबाट गल्ती भयो, त्यसका लागि आत्मालोचित छौँ ।’ प्रचण्डले थापाको परिवारप्रति आफ्नो पार्टीको उच्च सम्मान रहेको उल्लेख गर्दै गल्तीलाई माफी गरिदिनुस् प्रचण्डले अनुरोध गर्नुभयो । यो घटनामा माओवादीका नेताहरूले पहिल्यैदेखि पटक–पटक गल्ती स्वीकार गर्नुभएको थियो प्रचण्ड घरमै आएर आत्मालोचना गरेको विषयलाई आफ्नो परिवारप्रति गरेको सम्मानका रूपमा बुझेको डेकेन्द्रका जेठा दाजु भेषराज थापाले बताउनुभयो ।

उक्त घटनामा संलग्न केही कानुनी दायरामा आइसकेका छन् । हत्यामा संलग्न भनिएका ९ जना मध्ये अदालतले दुई जनालाई जन्मकैद र अरु सात जनालाई डेढदेखि तीन वर्ष कैद गरेको थियो । त्यसबेला रेडियो नेपालका लागि समाचार लेख्न पत्रकार डेकेन्द्र थापालाई तत्कालिन बिद्रोही माओवादीले अपहरण गरेर ४५ दिन नियन्त्रणमा राखी कुटपिटको क्रममा पहिलेको द्वारी गाविस हाल नौमुले गाउँपालिका—३ मा २०६१ साउन २७ गते हत्या भएको थियो ।

१० वर्षे सशस्त्र युद्धका चरम उत्कर्षमा गइरहेका बेला दैलेखमा डेकेन्द्रराज थापाको हत्यादेखि ‘दुल्लु विद्रोह’ले माओवादी पार्टीभित्र ठुलो तरङ्ग पैदा गरेको थियो । माओवादीकै कमजोरीका कारण दुल्लुका जनताहरू माओवादीविरुद्ध आन्दोलनमा उत्रिएका थिए । प्रचण्ड सोमबार नै दैलेख सदरमुकामबाट मध्यपहाडी राजमार्ग हुँदै जाजरकोटदेखि पोखरासम्मको यात्रा तय गर्र्नुभएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार