
दैलेख – दैलेखका नयाँ प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले मनसुन सुरु हुन लागेकोले विवद व्यवस्थापनमा जुट्ने, कार्यालयबाट दिइने सेवाहरुलाई पनि सुधार ल्याउने र स्थानीय तहहरुसंगको समन्वयमा सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउन बताउनुभएको छ ।
वैशाख २२ गते प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेको दोश्रो दिन मंगलबार पत्रकार भेटघाट कार्यक्रममा उहाँले स्थानीय तहहरुको नयाँ ग्रअभ्यास र सजगतको अभावमा सेवाग्राहीले झन्झट व्यहोर्नु परेको औंल्याउदै सुधारको प्रयास गरिने उहाँको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी गैरेले पहिलो सार्वजनिक छलफलको कार्यक्रम अन्तरगत पत्रकारहरुसंग गरिएको उक्त कार्यक्रममा दैलेखका पत्रकारहरुले जिल्लाको समसामयिक अवस्थाको बारे जानकारी गराउँदै सूचना सञ्चार प्रवाहमा प्रहरी, प्रशासन र सरकारी निकायको समन्वयकारी भूमिका बढाउन आग्रह गरेका थिए ।
विकास आयोजनामा हुने ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक अन्याय, अत्याचार जस्ता समस्याहरु देखिएको बेला तत्काल सूचना पाए बेथिति र बिसंति रोक्ने र शासन प्रवद्र्धनमा सहयोग पुग्ने भन्दै यसमा पत्रकारहरुको रचनात्मक भूमिका चाहेको प्रमुख जिल्ला अधिकारी गैरेले सहयोगको आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष अमर सुनार, सचिव भीम सिजापती, सहसचिव जीवन अाचार्य, प्रेस सेण्टरका अध्यक्ष तीर्थ भण्डारी, प्रेस यूनियनका सभापति अभिसेक अनुराग लगायतका पत्रकारहरूले जिल्लाकाे विकास गतिविधि, सुशासन पद्धतिका विषयमा सुझाव राख्नुभएकाे थियाे ।
कर्णाली प्रद्रेशका रुकुमपश्चिम, कालिकोट, छिमेकी प्रदेश लुम्बिनीको प्यूठान र धादिङमा प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिसक्नुभएका गैरे बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिव हुनुहुन्थ्यो । सहसचिव दरबन्दी रहेको ८ वर्षमा दैलेखमा प्रमुख जिल्ला अधिकारी उहाँ तेश्रो व्यक्ति हो ।
https://youtu.be/bltLyCVqNjw
प्रतिक्रिया दिनुहोस्