२०८३ वैशाख १८ , शुक्रबार (2026 May 1, Friday)

पाेलबाटै विद्युतीय ट्रान्सफर्मर चोरी !



बिराटनगर – वैशाख २० गते राति मोरङको ग्रामथान गाउँपालिका–३ बाटपोलदेखि नै विद्युतीय ट्रान्सफर्मर चोरी भएको छ । पोलमा जडान गरेको ट्रान्सफर्मर चोरी भएको घटनापछि प्रहरी र विद्युत प्राधिकरण चकित परेका छन् ।

विद्युत प्राधिकरण मोरङका कार्यालयका सूचना अधिकारी राजेन्द्रप्रसाद चौधरीले ग्रामथानमा सय केभीको ट्रान्सफर्मर चोरी हुँदा सात लाख रुपियाँको क्षति भएको बताउनुभयो ।

यसअघि यही वैशाख ३ गते पनि मोरङकै सुन्दरहरैँचामा र गत वर्ष पनि मोरङको बुढीगङ्गा–४ मा पनि ट्रान्सफर्मर चोरी भएको थियो । चोरले ट्रान्सफर्मरभित्रको तामाको तार चोरेर लैजाने गरेको देखिएको चौधरीले सुनाउनुभयो ।

ट्रान्सफर्मर बाहेक चोरले विद्युतीय सामग्री, बिजुलीको अर्थिङ तार पनि चोरी भइरहेको बताइएको छ । विद्युतीय सामग्री चोरीका कारण प्राधिकरणलाई लाखौँ नोक्सानी भई रहँदा चोर भने पक्राउ पर्न सकिरहेका छैनन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया ट्रान्सफर्मर चोरीको घटनामा प्रहरी अनुसन्धान नजिक पुगेको बताउनुभयो ।

चोरी भएको स्थान एक्लो स्थान रहेको र सिसी क्यामरा पनि नभएका कारण अनुसन्धानमा केही समस्या उत्पन्न भएको हो । गाउँ क्षेत्रमा भइरहेका ट्रान्सफर्मर चोरी रोक्न स्थानीयलाई पनि सजग रहन विद्युत् प्राधिकरणले आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २३ गते मंगलबार