
दैलेख – जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले अनियमितता र अराजकतालाई प्रसय दिनु नहुने बताउनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले जिल्ला सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभयो ।
उपभोग्य बस्तुमा मिसावट वा गुणस्तरहीन बेच्ने तथा वितरण गर्नेहरु आफन्त भए संरक्षण गर्ने र अरुहरु परे कारवाही गराउने पक्षपात गर्न नहुने प्रमुख शाहीले बताउनुभयो । गलत गरेको जो कसैलाई कारवाही गराउने निष्पक्ष व्यवहार गर्नपर्ने सुझाव दिनुभयो ।
नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापाले उपभोक्तालाई स्वच्छ खाद्यबस्तु उपलब्ध गराउन पशु वधशाला बनाउन लगायत नगरपालिकाले लगानी गरिरहेको बताउनुभयो । दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले बजार अनुगमनलाई प्रभावकारी बनाउन स्थानीय तहहरुको सहयोग आवश्यकता दर्शाउनुभयो ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख शंकरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग बाणिज्य संघ दैलेखका बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार लगायतले विश्व उपभोक्ता अधिकार दिवसको महत्व बारे प्रकाश पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेख शाखा अधिकृत पर्शुराम आचार्यले उपभोक्ता अधिकार सवालका प्रस्तूत गर्नुभएको कार्यपत्रपछि भएको खुला छलफलको क्रममा प्रेस यूनियनका सभापति अभिसेक सोनी, प्रेस सेण्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारी, युवाअभियन्ता विशाल योगीले सुझाव राख्नुभयो ।
खुला छलफलकै क्रममा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहाल, डिभिजन वन कार्यालयका प्रमुख राधाकृष्ण दास, पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखका प्रमुख प्रचण्ड खड्काले विश्व उपभोक्ता अधिकार दिवस र उपभोग्य बस्तुको गुणस्तर तथा सेवा सहजता विषयमा आफ्ना अनुभूतीहरु सुनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्