२०८२ असोज १७ , शुक्रबार (2025 Oct 4, Saturday)

चोरीका धनमाल भागबण्डा नमिल्दा हत्या



दैलेख – चोरी गरेका धनमालमा भागबण्डा नमिल्दा दुई जना किशोरहरुले बालकको हत्या गरेका छन् । दैलेखको दुल्लू नगरपालिका–५ रिजुपोखराका ११ वर्षीय बालकको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएपी सुनिल दाहालले बताउनुभयो ।

बाबुआमा भारतमा मजदूरी गर्ने भएको कारण १७ वर्ष र १४ वर्षका एकाघरका दुई भाईले आफूसंगै चोरीको धन्दामा प्रयोग गर्ने गरेका छिमेकी अर्कोका बालकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । मृतक र आरोपित समेत सबै बालबालिका भएको कारण नाम नखुलाइएको प्रहरीले जनाएको छ ।

माघ २५ गते दिउँसोदेखि हराएका भनिएका खेमराजलाई त्यही दिन दिउँसो आफ्नो घरमा हत्या गरी राति घर नजिक जमिनमा गाडेको अवस्थामा आइतबार प्रहरीले शव निकालेको छ । हत्या भएका बालकका अभिभावकले आरोपित बालकहरूलाई फकाएर सोधेपछि यो ९ दिनमा शव फेला पारिएको थियो ।

हत्या गरिएका बालकको शव आइतबार नै दैलेख अस्पतालमा पोष्टमार्टम गरिएको छ । घटना बारे पीडित पक्षको जाहेरी लिइएको र अदालतबाट म्याद थप लिई आरोपित किशोरहरुलाई प्रहरीले बाल निगरानी कक्षमा राखी घटनाको बारे थप अनुसन्धान थालिएको डीएपी दाहालले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फागुन ४ गते आइतबार